ब्यूँतियो ‘नगर साझेदारी’ कार्यक्रम : सहुलियत ब्याजमा डेढ करोड बढि कर्जा प्रवाह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले २०५४ सालबाट शुरु भएको ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ लाई ब्यूँताएको छ । अति बिपन्न परिवारको आर्थिक अवस्था उकास्न तत्कालिन समयमा यूएनडिपीको सहयोगमा सञ्चालित कार्यक्रम २०६९ सालदेखि बन्द अवस्थामा थियो । जनप्रतिनिधि आएसंगै ‘नगर साझेदारी’ कार्यक्रम शुरु भएको जानकारी दिदै उप–मेयर उमा थापामगरले भनिन्,–‘त्यस्तै प्रकृतिको तर कार्यविधि नै बनाएर उक्त कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’

बिपन्न परिवारलाई व्यवसायीक काममा संलग्न गराउने प्रमुख उदेश्यका साथ कार्यक्रम लागू भएको नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार टोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रति व्यक्ति रु २५ हजारदेखि एक लखासम्म सहुलियत ब्याज (वार्षिक दश प्रतिशत) मा कर्जा प्रवाह गरिन्छ । गत आर्थिक वर्षमा मात्र २ सय ५६ जनालाई रु १ करोड ६९ लाख कर्जा प्रदान गरिएको थियो । ‘यसमा साझेदारी कार्यक्रमको पहिलेको रकम, उपमहानगरको आफ्नै स्रोत र संघीय सरकारको सहयोग रहेको छ । ’– जोशीले भने ।

टोलमा गठन भएको समूहको निवेदन र वडा कार्यालयको सिफारिसका आधारमा ऋण प्रवाह गरिन्छ । प्रत्येक महिनामा बस्ने समूहको बैठकमा सामाजिक परिचालकको उपस्थिती रहने गर्छ । यसरी प्रवाह भएको ऋण एक वर्षभित्र चुक्ता गरिसक्नु पर्छ । सहुलियत कर्जा प्रवाहबाट सानो लगानी पनि नभएर व्यवसाय गर्नबाट बन्चित भएकाहरुले लाभ उठाएको उपमेयर उमा थापामगरले बताईन । ‘सामान्य आर्थिक अवस्था भएकालाई कुनै व्यवसायमा संलग्न गराउँ यसले महत्वपूर्ण भूमिका खेलेको छ ।’ उपमेयर थापाले भनिन–‘यो कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँछौ ।’

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     8:13:02 AM