आदर्श ‘हेडसर’ ! जसलाई प्लेन दुर्घटनामा बाँचेको भन्दै स्कुलमा भब्य स्वागत गरियो

डोल्पा – गत असार २३ गते नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ गएको यतिको एटीआर विमान अवतरणका क्रममा त्रिभुवन बिमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भयो । बिमानमा सवार सबै यात्रु भने सकुशल रहे । उनीहरुले नयाँ जिवन पाएको महसुस गरेका छन् । यस्तै नयाँ जिवन पाउने यात्रु मध्ये एक हुन डोल्पा जुफालका शिक्षक पूर्ण डाँगी ।

आदर्श नमूना मावि जुफालका प्रधानाध्यापक डाँगीलाई शुक्रवार बिद्यालयमा भब्य सम्मान गरिएको थियो । काठमाण्डौबाट फर्किए लगत्तै बिद्यालयले उनको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको हो । ‘सर बाँचेर आउनुभएको खुःसीमा कार्यक्रम राखेका छौं भन्नुभयो । सबैको माया, ममतला आर्शिवादले बाँचेरै फर्किए ।’– डाँगीले भने ।

काठमाण्डौंमा आयोजना गरिएको शिक्षकहरुको एउटा कार्यक्रममा सहभागि हुन जाने क्रममा डाँगी नेपालगञ्जबाट यति एयरलाईन्समा चढेका थिए । काठमाण्डौं पुग्ने बित्तिकै उनी चढेको बिमान दुर्घटनामा परेको थियो । बिमान दुर्घटनामा यात्रु सकुशल भएका थिए । शिक्षक डाँगी ‘आदर्श’ शिक्षकका रुपमा परिचित छन् । शैक्षिक सुधारको काममा उनको सक्रियतालाई हेरेर शिक्षक मासिकले २०६५ को फागुण अंकमा ‘कभर समाचार’ नै बनाएको थियो । उनी राष्ट्रिय शिक्षक संघ कर्णाली प्रदेशका अध्यक्ष पनि हुन । आजको सम्मानले आफुलाई शिक्षा क्षेत्रमा काम गर्न थप हौसला दिएको उनले बताए ।

‘बाँचियो भगवान’– चिप्लिएको विमानमा सवार ‘हेडसर’ को अनुभव

प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     2:40:18 PM