छाडाचौपाय नियन्त्रणका लागि अन्तरपालिका सहकार्य गरिने, पशुलाई ट्याग र लगत लिने

नेपालगञ्ज-नेपालगञ्जको छाडाचौपाय व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले अन्तर पालिका समन्वयका लागि पहल लिने भएको छ । बुधवार नेपालगञ्जमा भएको बृहद छलफल पछि भएको निर्णयका आधारमा बांके जिल्ला स्थित सबै पालिकाहरुले आ–आफनो पालिकाक्षेत्र भित्रको घरधूरी सर्वेक्षण मार्फत घरपालुवा जनावरहरुको लगत संकलन तथा जनावर पहिचानको लागि पशु ट्याग झुण्ड्याउने कार्य गरिने छ । सबै पालिकाहरुको सहभागिता हुने गरी उचित स्थानको पहिचान गरी वृहत सामुहिक गौशाला निर्माण गरी छाडापशु चौपायाको दिर्घकालिन समस्या समाधानको लागि १० दिनभित्र जिल्ला सभा बैठक आयोजनाको लागि जिल्ला समन्वय समिति, बांकेमा अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाद्वारा वडा नं. २१मा संचालित कांजीहाउसलाई थप सुधार गरी त्यहां रहेका जनावरहरुको उचित आहारा लगायतको कार्यमा थप सहयोगको लागि विभिन्न संघसंस्था, व्याक्तिहरुलाई आव्हान गर्ने गरिने भएको छ ।  कांजीहाउसमा रहेका जनावरहरु घरमा पालन पोषण गर्नको लागि लिन चाहने ईच्छुक व्यक्ति, संघसंस्था, गौशालाहरुलाई निःशुल्क लिनको लागि सूचना जारी गरिने बैठकले निर्णय गरेको छ । नेपालगञ्जमा छाडा पशु चौपाया ब्यवस्थापनका लागि पहलकदमी बढाइएको हो । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा बुधबार सर्वपक्षीय बैठकले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने सहमति गरेको छ ।

नेपालगञ्जमा निर्माणाधिन काञ्जीहाउसको थप ब्यवस्थापन गर्ने, यहाँका पशु चौपायलाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने बैठकमा सहमति भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले काञ्जिहाउस थप ब्यवस्थित गरि पशुको आहार लगायत अन्य सहयोगका लागि सार्वजनिक सहयोगको अपिल गर्ने निर्णय गरेको छ । यसैगरी काञ्जिहाउसमा रहेका पशुहरुलाई पालनपोषण र गौशालाका लागि निशुल्क उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । जनावरको तथ्यांक संकलन गरि ट्याग लगाउने र सबै स्थानीय तहले बृहद गौशाला निर्माणका लागि जिल्ला सभा बोलाउन बैठकले जिल्ला समन्वय समितिमा आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले भारत र ग्रामिण क्षेत्रबाट आउने पशु चौपाय नेपालगञ्जको विकराल समस्या बनेको बताउनुभयो । दुई सम्मको क्षमता रहेको निर्माणाधिन काञ्जीहाउसमा ६०० वटा पशु राखिदा समेत नगरभित्र समस्या समाधान हुन नसकेको प्रमुख राणाले बताए । थोरै पशुका लागि दानाको ब्यवस्थापन गरिएको थियो, प्रमुख राणाले भने ६०० वटासम्म पशु भएपछि कसरी ब्यवस्थापन गर्नु ? । राणाले काञ्जीहाउस अस्थायी भएपनि राखिएका पशु लिन कोही नआएपछि स्थायी जस्तै भएको बताए ।

प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले छाडा पशु चौपाय ब्यवस्थापनका लागि उपमहानगरपालिका प्रयासरत रहेको बताए । काञ्जिहाउसमा पशुका लागि आहार र औषधीउपचारको ब्यवस्था गरिएको बताए । बैठकमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वली, नेपाली सेनाको भैरवप्रसाद गणका प्रमुख सेनानी नकुल थापा लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     7:23:34 PM