भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ वर्षमा, फोनबाटै दिइन बधाई

नेपालगञ्ज – भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ औं वर्षमा प्रवेश गरेको छ । उद्यमक्षेत्रमा महिला सहभागिता बढाउँन राणाकै पहलमा २०६० सालमा सघ स्थापना गरिएको थियो । राणा अहिले निजीक्षेत्रको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष छन्  शनिवार संघले १६ औं साधारणसभा आयोजना गरेको छ । साधारणसभामा आउन नसके पनि राणाले फोनबाटै शुभकामना दिइन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको मोवाईल फोनबाट राणाको प्रत्यक्ष बधाई भाषण साधारणसभामा सुनाईएको थियो । राणाले महिलालाई उद्यम क्षेत्रका प्रोत्साहन गर्न महिला उद्यमी संघले गरेको कामको प्रशंसा गरिन् । साधारणसभामा महिला उद्यमी संघकी केन्द्रीय सदस्य सरस्वती शर्माले उद्यम क्षेत्रमा महिला सहभागिता बढाउन राज्यको सकारात्मक नीति आवश्यक रहेको बताईन ।

पूर्व अध्यक्ष कुसुम बस्नेतले चुलोचौको सम्हाल्दै उद्यम, व्यवसायमा लाग्न महिलालाई धेरै चुनौती रहेको बताईन । जस्तोसुकै अवस्था आए पनि संघलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिइन । साधारणसभाका प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले महिला उद्यमको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने,–‘कोशेली घर निर्माणमा सहयोग गरे जस्तै महिला उद्यमीलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउन सहयोग गर्छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले उदम क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानु स्वागतयोग्य कुरा भएको बताए । उनले निजीक्षेत्रमा महिलालाई ल्याउन सहयोग गर्नुपर्ने र राज्यले त्यसरी नीति बनाउन सक्नुपर्ने उल्लेख गरे । साधारणसभामा पूर्व अध्यक्ष कमला टण्डन र कुसुम बस्नेतलाई सम्मान गरिएको थियो । अध्यक्ष सुशिला गौतमले आफ्नो कार्यकालमा कोशेली घर निर्माणदेखि महिला उद्यमीलाई प्रशिक्षण दिने काम गरिएको बताईन । साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने छ । साधारणसभाको उद्घान सत्र रेवती सिंहले सञ्चालन गरेकी थिईन ।

प्रकाशित मितिः शनिबार, साउन २५, २०७६     3:07:16 PM