न्यूनबीजकीकरण रोक्न सरकारको कडा कदम, सिङ्गल कन्साइन्मेन्ट लागू गरिँदै

  • क्यापिटल नेपालबाट

काठमाडौं । एउटै गाडीमा विभिन्न थरी सामान ल्याउने र त्यसैबाट राजस्व चुहावट हुन थालेपछि सरकारले (एउटा गाडीमा तोकिएका सामान मात्रै) सिङ्गल कन्साइन्मेन्ट लागू गर्ने भएको छ । एउटा ट्रक वा कन्टेरमा विभिन्न सामान राखेर ल्याउँदा कुन सामान कति मूल्य पर्छ भनेर चेकजाँच गर्न सम्भव नहुने भएपछि भन्सार विभागले सिङ्गल कन्साइन्मेन्ट लागू गर्न लागेको हो ।

‘व्यापारीले एउटै गाडीमा सुनदेखि नुनसम्म र सियोदेखि फालीसम्म ल्याउँदा महँगा सामान पनि न्यूनतम भन्सार मूल्यमा छिर्ने गरेको पाइएकाले यस्तो व्यवस्था लागू गर्न लागिएको हो,’ विभागका महानिर्देशक रामेश्वर दङ्गालले क्यापिटल नेपालसँग भने, ‘तोकिएका सामान मात्रै एउटा गाडी (सिङ्गल कन्साइन्मेन्ट)मा ल्याउँदा त्यसभित्र कुन कुन सामान ल्याएको छ भन्ने थाहा हुने र सोहीअनुुसार भन्सार लिन सकिन्छ ।’

व्यापारीले सामानको सस्तो मूल्य देखाउने र सोहीअनुसार सरकारले भन्सार लिने गरेको छ । यसो गर्दा न्यूनबीजकीकरणमार्फत ठूलो परिमाणमा सामान छुटेको विभागको निष्कर्ष छ । एउटा गाडीमा निश्चित सामान मात्रै ल्याउन दिनेबित्तिकै त्यसमा कुन कुन सामान आएको छ र त्यसको मूल्य कति हो भन्ने सरकारलाई थाहा हुन्छ । त्यसैका आधारमा भन्सार लिन मिल्ने विभागले जनाएको छ ।

‘भन्सारमा आइपुगेका गाडीभित्र के के छन् भनेर सम्पूर्ण सामान निकालेर हेर्न सकिन्न । भन्सारमा छिटोभन्दा छिटो चेकजाँच गराएन भने विरोध भइहाल्छ,’ महानिर्देशक दङ्गालले भने, ‘सिङ्गल कन्साइन्मेन्ट लागू गर्नेबित्तिकै यो समस्या समाधान हुन्छ ।’ एउटा गाडीमा हजारौं थान सामान लिएर आएका हुन्छन् । प्रत्येक सामानलाई पन्छाएर चेकजाँच गर्न सम्भव पनि हुँदैन । व्यवसायीले भनेकै आधारमा चेकजाँच गर्ने हो । उनीहरुको भनाइलाई विश्वास गरेर भन्सार पास गराउँदा ठूलो परिमाणमा न्यूनबीजकीकरण बढेको विभागको बुझाइ छ ।

खासगरी नेपाल भित्रिने महँगा सामानको सस्तो बिल देखाएर भन्सार पास गराउने गरेका छन् । जुत्ता, चप्पल, कपडालगायतमा यस्तो विकृति व्यापक भएको भन्सारका अधिकारीहरु बताउँछन् । हरेक सामानको बिल सस्तो बनाउने र सोही सामान मात्रै ट्रक वा कन्टेनरमा ल्याइएको छ भन्ने आधारमा अहिलेसम्म भन्सारले पास गरिरहेको छ ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     6:33:15 PM