नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरीले पुरा गर्यो ३ बर्ष

नेपालगन्ज-नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाले ३ वर्ष पुरा गरेको छ । तीन वर्ष पुरा गरेको अवसरमा क्युएफएक्सले दर्शकहरुको मन जित्न सफल भएको जनाएको छ । स्नेह क्लार्क्स इनमा राखिएको कार्यक्रमको क्युएफएक्स सिनेमाज बागेश्वरीका प्रबन्ध निर्देशक जय प्रकाश श्रेष्ठ र प्रबन्धक निरजमान शाक्यले केक काट्नु भएर शुभारम्भ गर्नुभएको थियो ।

३ सय ८५ जना र २ सय ९० जना अटाउने गरि दुई हल रहेको क्युएफएक्स सिनेमाज बागेश्वरीले बेस्ट परफर्मर भनेर आफ्नो २ जना कर्मचारीलाई सम्मान समेत गरेको छ । स्वच्छ र सुरक्षित वातावरण, दर्शकमैत्री कर्मचारी र आरामदायी सिटमा 2K र 3D क्षमताको पर्दामा सिनेमा हेर्न पाउँदा यस क्षेत्रका दर्शकहरुको मन जित्न सफल भएको क्युएफएक्सका प्रबन्धक निरजमान शाक्यले बताउनुभएको छ ।

केही वर्ष अघिसम्म यहाँका दर्शकहरुसँग कुनै विकल्प थिएन जसकारण उनीहरु अव्यवस्थित र वातानुकुलित सुविधा र सुरक्षा व्यवस्था राम्रो नभएको वातावरणमा सिनेमा हेर्न बाध्य थिए । सन् २००१ मा काठमाडौंको जय नेपाल हलबाट क्यूएफएक्सले उत्साहित रुपमा मनोरन्जन व्यवसायको सुरुवात गरेको हो । त्यसको पन्ध्र वर्षपछि सन् २०१६ अगस्ट १२ तारिखमा क्यूएफएक्स बागेश्वरी सिनेमाज नेपालगन्जमा सन्चालनमा आएको हो ।

तत्कालिन बागेश्वरी चलचित्र मन्दिरलाई क्वेष्ट इन्टरटेन्मेन्टको विशेषज्ञतामा आवस्यक सुधार गरी क्यूएफएक्स बागेश्वरी सिनेमाजका रुपमा सन्चानलमा ल्याइएको थियो । जसमा आरामदायी सिट, उच्चस्तरीय प्रविधिजडित प्रोजेक्सन तथा ध्वनी (साउण्ड), सफा, स्वस्थ र स्वादिलो खानेकुराको साथमा ग्राहकहरुलाई फरक अनुभवका साथमा सिनेमा हेर्ने आरामदायी र सुविधायुक्त वातावरण प्रदान गरेको थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     8:12:19 AM