त्यो ऐतिहासिक त्रिभुवनचोक, अहिलेको ‘सन्देश बोर्ड’ !

तस्वीर – मेराज सिद्धिकी
  • टिप्पणी

त्रिभुवनचोक
नेपालगञ्जको सबैभन्दा पुरानो र व्यस्त रहने चोक । राजा त्रिभुवनको सालिक राखेसंगै त्यही नाम जनजिव्रोमा झुण्डिएको छ । तर अहिले त्यो चोकमा त्रिभुवनको सालिक छैन । सालिक राख्ने पिलरलाई पिरामिड आकारको बोर्डले ढाकिएको छ । त्यसका वरीपरी नेपालगञ्ज उपमहानरपालिकाले बिभिन्न सन्देशमूलक सामाग्र्री टाँस्छ । कहिले कर तिर्नुपर्ने सन्देश छाप्छ भने कहिले प्लाष्टिकमूक्त शहर बनाउन नगरबासीसंग यहीबाट सहयोगको अपील गर्छ । यतिबेला भने चाडपर्वका बेला शहरमा कुनै पनि सामाग्रीहरु जथाभावी नफाल्न सूचित गरिएको सन्देश राखिएको छ । किनकी अहिले चाडपर्वको मौसम छ । समयानुकुल कस्ता सन्देश प्रवाह गर्ने भन्ने उपमहानगरले राम्रैसंग हेक्का राखेको देखिन्छ ।

प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैश्यले संखनाद साप्ताहिकमा कुनै बेला लेख्ने त्रिभुवनचोक बोल्छ स्तम्भ निकै चर्चित थियो । बैश्यले नेपालगञ्जमा हुने अनेकन बिकृती र बिसंगती त्रिभुवनचोक स्तम्भ मार्फत उजार गर्नुहुन्थ्यो, ब्याङ्गग्यात्मक शैलीमा । उहाँ स्वर्गीय भइसक्नुभयो । अहिले संखनादको त्रिभुवनचोक बोल्छ की बोल्दैन थाहा छैन तर साच्चिकै त्रिभुवनचोक भने आर्कषक पिरामिडमा सजिएर बोलिरहेको भान हुन थालेको छ । त्रिुभवनचोक अहिले नागरिकलाई कर तिर्न सुझाउँछ । नगर सफा गर्न र बालबालिकालाई पढ्न पढाउन भन्छ । राम्रो शहर बनाउन हातेमालो गर्न आह्वान गर्छ, यही पिरामिडको बिज्ञापन बोर्डबाट ।

हो, ऐतिहासिक महत्व बोकेको त्रिभुवनचोक यतिबेला नेपालगञ्ज उपमहानगरपालिकाको सन्देश प्रवाह गर्ने बोर्डमा परिणत भएको छ । यहाँ जनजिव्रोमा झुण्डिए जस्तो त्रिभुवनको सालिक छैन । त्रिभुवनको सालिक राख्ने वा अरु कसैको ? भन्ने राजनीतिक द्धन्द्ध यथावत छ । चोकमा फेरी के हुने हो भन्न सकिदैन । मधेस आन्दोलनमा सहिद भएका कमल मधेसीको नाममा चोकको नामाकरण गर्नुपर्छ भन्ने पछिल्लो आवाज केही दलले उठाउँदै आएका छन् । पक्ष र बिपक्षमा आवाज उठेकै छन् । चोकको विषय पेचिलो बनेको छ । सम्भवत यही संवेदशिलतालाई बुझेर सरोकारवाला पक्षले यहाँ नयाँ कुनै संरचना बनाउन सकिरहेको छैन । जसको बिकल्पमा यो सन्देश बोर्ड राख्नुपर्ने बाध्यता आईलागेको पनि हुनसक्छ भन्ने अनुमान गरौं।

बाध्यता होलान्, बुझ्नुपर्ने अर्को कुरा के पनि हो भने बाहिर र भित्रका कयौं मानिसको आवातजावत हुने चोक यसरी अव्यवस्थित हुँदा कत्ति पनि सुहाएको छैन । सबैभन्दा व्यस्त रहने चोकलाई कूरुप पारेर त्यहाँ राखिएका राम्रा सन्देश पनि आमनागरिकका लागि फिक्का सावित भएका छन् । राम्रा सन्देशमा होइन , सन्देश राख्न बिच सडकमा बनाएको पिरामिडले सबैको ध्यान खिच्छ । यस्तो पिरामिड राख्नुपर्ने अवस्था कसरी आयो ? घटनाक्रम थाहा पाएकाले  चित्त बुझाएकै होलान् । शहरका नयाँ आगन्तुकका लागि भने अचम्म लाग्न थालेको छ ।

 

चोकमा पहिलेकै जस्तो त्रिभुवनको सालिक राख्ने वा अरु केही भन्ने द्धन्द्ध चलिरहेका बेला नेपालगञ्ज उद्योग वाणिज्य संघ चोकको पुर्ननिर्माण गर्न भन्दै यो विषयमा प्रवेश गर्छ । कुरुप बनेको चोकलाई व्यवस्थित गर्ने र त्यसका लागि आर्कषक स्तम्भ बनाउन रातारात सालिक राख्ने पिलर डोजरले हटाएपछि संघले चर्को बिरोधको सामना गर्नुपर्यो । संवेदनशिल बिषयमा एकाएक कस्ले यस्तो कदम चाल्यो भन्ने बिषयमा केहीदिनसम्म नेपालगञ्जमा तिव्र बहस भए । यस बिषयमा नेपालगञ्ज उपमहानगरपालिका र संघबीच आरोप प्रत्यारोप चल्यो ।

तिव्र बिरोधका बीच संघले स्तम्भ डिजाईन चोकमा राख्न नसकी संघकै कार्यालयमा राखेको छ । यता उपमहानगरपालिकाले बृहद छलफल र सहमति नगरी चोकको बिषयमा थप काम अगाडी नबढाउने स्पष्ट पारिसके पछि रातारात सुरु भएको त्रिभुवनचोकको पुर्ननिर्माण फेरी शुरु नहुँदासम्म रोकिएको छ । त्यही पुर्ननिर्माणको काम शुरु नहुँदै बन्द भएपछि त्रिभुवनचोक उपमहानगरपालिकाको सन्देश प्रवाह गर्ने बोर्डमा परिणत भएको हो । उपमहानगरले भने जस्तै बृहद छलफल गरेर एउटा निष्कर्षमा नपुग्दासम्म कुरुप त्रिभुवनचोकको ‘लाज’ यिनै सन्देशले ढाक्ने निश्चित छ । फेरी प्रश्न -यस्तै कहिलेसम्म ?

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     9:33:16 AM