बागेश्वरी मन्दिरमा धर्मशाला र सटर बनाउँदै उपमहानगर, सामाजिक सञ्जालमा बिरोध

नेपालगञ्ज – बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ ब्यापारिक भवन बनाउन सुरु गरेपछि सार्वनजनिकरुपमन बिरोध गरिएको छ । सामाजिक सञ्जालमा मन्दिरलाई खुल्ला छोड्नका लागि कुनै पनि व्यापारिक भवन बनाउन दिन नहुने माग उठेको छ । अधिकांसले बागेश्वरी मन्दिर परिसरलाई खुल्ला राख्दा आर्कषक देखिने भएकाले त्यहाँ कुनै पनि सटर निर्माण नगर्न भनेका छन् । मेयर डा. धवल शमसेर राणालाई उनीहरुले सार्वजनिकरुपमा सटर बनाउने कार्य रोक्न आग्रह गरेका छन् ।  नेपालगञ्जमा सडक विस्तारको क्रममा बागेश्वरी मन्दिरको ब्यापारिक सटरहरु रहेको भवन भत्किएपछि ब्यवसायीहरुको अनुरोधमा नयाँ भवन निर्माण सुरु गरिएको बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । ।

बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले बागेश्वरी मन्दिरको सटरमा पाँच दशक भन्दा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीको अनुरोधमा ब्यापारिक भवनको निर्माण सुरु गरेको हो । विगतमा ब्यापारिक सटर भत्काइएको स्थानमै सपिङ्ग कम्पलेक्स बनाउन लागिएको हो । पहिलो तल्लामा १७ वटा सटर निर्माण हुनेछन् । ९३ लाख रुपियाको लागतमा भवन निर्माण कार्य सुरु भएको हो । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा माथिल्लो तल्लामा साधु सन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो । सपिङ कम्पलेक्स निर्माण सम्पन्न भएपछि मासिक दुईलाख रुपिया बागेश्वरी मन्दिरलाई आम्दानी हुने भएकाले मन्दिर आत्मनिर्भर पनि हुने उहाँले बताउनुभयो ।

मन्दिर छेउको जग्गा खाली राख्नुपर्ने सुझाव आईरहँदा अध्यक्ष राणाले ५०र६० बर्षसम्म पसल ब्यवसाय गरेर बसेका ब्यक्तिहरुको रोजरोटी खोस्नु हुदैन भन्ने लागेर सपिङ्ग कम्पलेक्स सुरु गरिएको बताउनुभयो । सपिङ्ग कम्पलेक्सका लागि ब्यवसायीले समेत आर्थिक सहयोग गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन ३०, २०७६     2:24:59 PM