उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा कात्तिक २९ गते, कोषाध्यक्षमा सुर्खेतका केसी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष साधारणसभा कात्तिक २९ गते हुने भएको छ । महासंघको शुक्रबार बसेको कार्यकारणी समितिको बैठकले कात्तिक २९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा लैजाने एजेन्डाको विषयमा पर्याप्त छलफल नभएको र ३ महिनाभन्दा कम समय राखेर बोलाइएको भन्दै केहीले बैठकमा बिरोध जनाएका थिए । महासंघको विधान संशोधनका लागि ३५ ओटा बुँदाको संशोधन प्रस्ताव विधान संशोधन समितिले कार्यसमितिलाई प्रस्ताव पठाएको छ । संशोधन समितिले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने हालको व्यवस्था हटाउने वा उक्त व्यवस्था एक दुई कार्यकाल यथास्थानमा राख्ने विकल्पसहितको प्रस्ताव पठाएको छ ।

यो व्यवस्थाले विशेष साधारणसभामार्फत विधान संशोधन भई तत्काल अध्यक्षको चुनाव हुन पनि सक्छ वा विधान संशोधनपछिको कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरी एक दुई कार्यकाल राख्न पनि सक्ने छ । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैठकमा देशभरका उद्योगी, व्यवसायीका समस्याका बिषयमा पनि छलफल भएको बताए । मुख्य त बिशेष साधारणसभाका बिषयमा छलफल केन्द्रीत भए पनि अनय बिषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

कोषाध्यक्षमा निरक केसी

महासंघको रित्त कोषाध्यक्षमा निरक केसीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । ज्ञानेन्द्रलाल प्रधानले राजीनामा गरेपछि कोषाध्यक्ष पद रित्त थियो ।

प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     9:28:05 PM