नाडा अटो शो भदौं १० गतेदेखि, किन्नेलाई अफरैअफर

काठमाडौं।सवारी साधन किन्ने योजनामा हुनुहुन्छ? यदि किन्दै हुनुहुन्छ भने डेढ साता पर्खिनुहोस्। भदौं १०गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला नाडा अटो शो हुँदैछ। यो मेलामा विभिन्न कम्पनीले सवारी साधन बिक्रीमा भारी छुट दिनेछन्।मेलालाईनै लक्षित गरेर विभिन्न गाडी बिक्रेता कम्पनीले छुट योजना ल्याउँदैछन्।तरलता अभाव, घरजग्गा र शेयर बजारमा आएको मन्दीसँगै सवारी साधन बिक्री सुस्त छ। सुस्त रहेको बिक्री बढाउन मेलामा कम्पनीबीच छुटको प्रतिस्पर्धा हुने निश्चित छ।‘सवारी साधन बिक्री राम्रो छैन। मेलामा कम्पनीबीच छुटको प्रतिस्पर्धानै हुनेछ।’ एक गाडी बिक्रेताले भने,’मेलाको उदेश्य सवारी साधनको ब्राण्डिङ गर्ने उदेश्यले हुँदै आएको थियो।तर अहिले भने बिक्रीमै बढीले ध्यान केन्द्रित गर्ने देखिएको छ।’

उनका अनुसार सबै सवारी साधन बिक्रेताले छुट योजनालाई ‘गोप्य’ राखेका छन्।‘बिक्रीमा मन्दी भएपछि सवारी साधन किन्ने उपभोक्ताले सस्तोमा पाउने वातावरण बन्छ। अहिलेनै धेरै कम्पनीले भारी छुट दिएर सवारी साधन बिक्री गरिरहेका छन्। अहिले दुई पाँग्रे भन्दा चार पाँग्रेको प्यासेन्जर भेहिकलमा छुट दिने प्रतिस्पर्धा छ।’ ती व्यवसायीले भने,’मेलामा किन्नेले नगद छुटको राम्रै अफर पाउने सम्भावना छ।’ यो मेलापछि दशैंतिहारसम्मै सवारी साधन किन्नेले अफर पाउँछन्। ती व्यवसायीका अनुसार अहिले दुई पाँग्रेमा केही हजार छुट पाउनेले दशहजारसम्म र चार पाँग्रेमा एक लाख रुपैयाँसम्म पाउनेले दुई लाखसम्म छुट पाउनेछन्।

भारतमा गाडी बिक्रीमा ठूलो मन्दी आएकाले समेत त्यसको प्रेसर नेपालमा समेत परेको छ।स्रोतका अनुसार कतिपय कम्पनीले बिक्रीको भोलुम बढाउन नेपालका अधिकृत बिक्रेतालाई दबाब दिएका छन्।त्यसको असर पनि मेलामा पर्नेछ।यो पल्ट मेलामा विद्युतीय र हाइब्रिड गाडी आकर्षणमा रहनेछन्।सरकारले हाइब्रिड गाडीमा करमा छुट दिएकाले केही कम्पनीले मेलामै राख्नेगरि समेत ल्याइसकेका छन्।

९५ ब्राण्डका सवारी साधन

मेलामा ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने सामाग्री रहने नाडाका अध्यक्ष शम्भु दाहालले बताए।सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहनेछ।

’दशैं तिहार नजिकिँदै गर्दा आयोजना हुने यो मेला नाडाको मात्रै नभइ सबै नेपालीको उत्सव हो।यसले नयाँ उत्साह पनि दिन्छ।’ अध्यक्ष दाहालले भने।मेला संयोजक निराकार श्रेष्ठले सर्वसाधरणलाई सहज अवलोकनका व्यवस्थापन चुस्त बनाइएको बताए।‘सर्वसाधरणका लागि सहज अवलोकन गर्ने वातावरण बनाउन पार्किङदेखि मेलास्थलसम्मको व्यवस्थापनमा धेरै ध्यान दिइएको छ’ उनले भने।

उनका अनुसार मेलामा २३ वटा ब्राण्डका चारपाँग्रे सवारीसाधनको स्टल, १९ वटा ब्राण्डका दुई पाँग्रे सवारीसाधन, नौवटा ब्राण्डका टायर, पाँचवटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपुर्जा र १३ वटा वित्तिय संस्थाहरुको स्टल राखिनेछ।

मेलामा पहिलो पटक ओभरहेड ब्रिज

मेला आकर्षक बनाउन पहिलो पटक ओभरहेड ब्रिज बनाउन लागिएको श्रेष्ठले बताए।

‘नाडा अटो शो धेरैको आकर्षणमा रहन्छ। यसलाई अझै उत्कृष्ट बनाउन पहिलो पटक मेलाभित्रै ओभरहेड ब्रिज बनाउँदैछौ। उपभोक्ताले ओभरहेड ब्रिजबाट वारपार गर्न पाउनेछन्’ उनले भने।सवारी साधनको बढ्दो सहभागिताका कारण यो पटक फूट स्टल भृकुटीमण्डपभित्रको बगैंचामा राखिएको छ।  बिजमाण्डुबाट

प्रकाशित मितिः आइतवार, भदौ १, २०७६     6:37:44 PM