ग्रामीणक्षेत्रमा लद्युवित्तको उपस्थिती सन्तोषजनक भएन, यस्ता छन् कारण

नेपालगञ्ज – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को लद्युवित्त संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्वन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई यसको शाखा सञ्जाल ग्रामीण भेगमा बिस्तार गर्न प्रोत्साहन गरिरहेको भएता पनि अझै अपेक्षित रुपमा दुर्गम ग्रामीण भेगमा विस्तार गर्न नसकेको उल्लेख छ । उक्त प्रतिवेदन गत असारमा सार्वजनिक भएको थियो ।

बिशेषगरी प्रदेश नं. ५ मा लद्युवित्तको शाखा सबैभन्दा बलियो र कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको छ । प्रदेश ५ मा ५ सय ४१ वटा शाखा छन् भने कर्णाली प्रदेशमा १ सय १८ वटा शाखा छन् । लघुवित्त वित्तीय संस्थाहरुको सेवाको पहुँच तथा शाखाको अवस्था २०७५ असार मसान्तमा कायम रहेका कुल ६५ लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २ हजार ४ सय ५३ रहेको प्रतिवेदनमा उल्लेख छ । यी संस्थाहरुको सेवा सात वटै प्रदेशमा पुगिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्या बढ्दो क्रममा रहेकाले शाखा सञ्जाल थप बढ्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई यसको शाखा सञ्जाल ग्रामीण भेगमा बिस्तार गर्न प्रोत्साहन गरिरहेको भएता पनि अझै अपेक्षित रुपमा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो शाखा संञ्जालहरुलाई दुर्गम ग्रामीण भेगमा विस्तार गर्न सकेको छैनन् । कारण यस्तो छ,-

-दुर्गम ग्रामीण भेगमा लघुवित्तहरुको शाखा सञ्चालन गर्न आवश्यक न्यूनतम पूर्वाधारको अभाव,

-कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने प्रवृत्ति,

-दुर्गम क्षेत्रमा शाखा स्थापना गर्दा लागत खर्च धेरै लाग्ने जस्ता कारणले गर्दा लघुवित्त वित्तीय संस्थाहरु अपेक्षित रुपमा ग्रामीण भेगमा पुग्न सकेको देखिदैन ।

२०७५ असार मसान्त सम्ममा कर्णाली प्रदेशमा लघुवित्त वित्तीय संस्थाहरुको शाखाहरुको उपस्थिति कमजोर देखिन्छ । कुल शाखा २४५३ मध्ये ११८ शाखा कर्णाली प्रदेशमा पुगेको छ भने १९९ शाखा सुदुरपश्चिममा पुगेको छ । यो कुल शाखा संख्याको क्रमश ४.८१ र ८.११ प्रतिशत हो । प्रदेश नं. ५ मा भने लघुवित्तको उपस्थिति बलियो देखिन्छ । यस प्रदेशमा कुल शाखाको २२ प्रतिशत शाखा यस प्रदेशमा रहेको देखिन्छ । २०७५ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाको कुल सदस्य संख्या २८ लाख ५६ हजार ८ सय ५९ रहेको छ । औसतमा २०७५ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाकोएक शाखाले ११६५ सदस्यलाई सेवा दिइरहेको देखिन्छ ।

लद्युवित्तको संख्या बढ्यो

२०७३ असार मसान्तसम्ममा रहेका ४२ वटा लघुवित्त वित्तीय संस्थाहरुको संख्यामा ५४.७६ प्रतिशतलेवृद्धि भई २०७५ असार मसान्त सम्म आइपुग्दा ६५ वटा पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुकर्जा कारोबार गर्ने गैर सरकारी संस्थाहरु लघुवित्त वित्तीय संस्थामा रुपान्तरण हुने क्रममा रहेकाले आगामी दिनमा यसको संख्या अझ बढ्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सहकारी संस्थाहरु (सीमित बैंकिङ कारोबार गर्ने) को संख्या २०७५ असार मसान्तमा १४ रहेको देखिन्छ । यी संस्थाहरुको सुपरिवेक्षण लघुवित्त प्रर्वद्धन तथा सुपरिवेक्षण विभागबाट हुदै आएको भएता पनि आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा उल्लेख भए बमोजिम २०७५ साउन १ गतेदेखि यस बैंकको नियामकीय तथा सुपरिवेक्षकीय दायराबाट अलग गराइएको छ । कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूको संख्या ४ वटा र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको संख्या ६१ वटा रहेको छ ।

लगानीमा कमी

२०७४ असारको कुल लगानी रु. ३ अर्ब १३ करोडको रहेकोमा २०७५ असार मसान्तमा २३.१९ प्रतिशतले ह्रास आई रु. २ अर्ब ४१ करोडमा सीमित हुन पुगेको देखिन्छ । २०७३ असारमा कुल लगानी रु. २ अर्ब ५३ करोड रहेको थियो । २०७५ असार मसान्तमा लघुवित्तहरुले सरकारी सुरक्षणपत्रमा रु ३ करोड ८७ लाख लगानी गरेको देखिन्छ । २०७५ असार मसान्तमा शेयर तथा डिवेञ्चर लगानी र प्राथमिक पुँजी अनुपात ०.६६५ रहेको छ । शेयर तथा डिवेञ्चरमा गरेको लगानी भने गत आर्थिक बर्षको तुलनामा १५१.७४ प्रतिशतले वृद्धि भई रु ११ करोड ९१ लाख रहेको देखिन्छ ।

 

प्रकाशित मितिः बुधबार, भदौ ४, २०७६     11:46:14 AM