बिपीचोकका आगलागी पीडित फर्निचर उद्यमीलाई राहात दिने कोही भएन

नेपालगञ्ज – गत साउन २३ गते राती नेपालगञ्जको बिपीचोकमा लहरै रहेका फर्निचर उद्योगमा आगलागी हुँदा १४ पसल खरानी भए । आगलागीबाट करिव ५ करोड क्षती भएको थियो । त्यो घटना भएको झण्डै २० दिन पुग्दा समेत पीडितले राहात पाउन सकेका छैनन् । राहातका नाममा नेपाल रेडक्रस सोसाईटीले दिएको त्रिपाल मात्र छ । अन्य निकायले आश्वासन मात्र दिएका छन् ।

आगलागीबाट हिमालय स्टिल, सानिया स्टिल, स्टार स्टिल, वारसी स्टिल, बिन्देश्वरी फर्निचर, न्यू रुबी, प्रतापसिंहको फर्निचर, आलिया फर्निचर, अमन फर्निचर, ए–वान फर्निचर, वावा फर्निचर, बाबा टे«र्डस, सरदार डेण्टलमा क्षती पुगेको थियोे । ‘पसल जलेको भोलीपल्टसम्म सबै जना भेट्न आए । त्यसको भोलीपल्टदेखि अहिलेसम्म कसैले केही सोधेको छैन’ ए वान स्टिलका सन्चालक वहद सिद्धिकीले भने–‘ हामी अत्यन्त निरही जस्ता देखियौं । शहरको मुख्य चोकमा आगलागी हुँदा पीडित भएका हामीलाई हेर्ने कोही भएन ।’

ए वान फर्निचर उद्योगको झण्डै ८ लाख क्षती भएको छ । गोदाम रित्तिए पछि नयाँ सामान बेच्न सकेका छैनन् । ‘दशै र तिहार जस्ता सिजनमा बिक्री गरौला भनेर स्टक राखेको सामान जल्यो । अब बिक्री गर्ने केही छैन । बिहान आएर जलेको गोदाम हेर्ने र दिनभर पसल दिन काट्ने काम भइरहेको छ ।’– सिद्धिकीले भने । बाबा पर्निचर र बाबा टे«र्डस सबैभन्दा धेरै क्षती भएको पसल हो । दुबै गरेर झण्डै ७५ लाखको क्षती भएको छ । सञ्चालक हमिद सिद्धिकीको सबैभन्दा धेरे बिजोग भएको छ । ‘ऋणधन गरेर चलाएको ब्यापारमा बज्रपात भयो ।’– उनले भने ।

यहाँका पीडितहरु राहात पाइने आशमा शहरी विकास मन्त्री एवं नेपालगञ्जका सांसद मोहमद ईस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा, जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उद्योग वाणिज्य संघमा पुगेका छन् । जहाँ पुगे पनि अहिलेसम्म हात लागे शुन्य भएको छ । बिन्देश्वरी फर्निचर उद्योगका बिन्देश्वरी बड भन्छन्,–‘बुवा प्रत्येक दिन यि निकायहरुमा धाउनुहुन्छ । जसले पनि आश्वासन मात्र दिन्छन् । सहयोग कसैले दिएका छैनन् ।’ थोरै भए पनि सहयोग गर्दा आफुहरुको दुःखमा मल्हम लाग्ने उनीहरुको भनाई छ ।

यहाँका उद्यमीको सबै भन्दा ठुलो समस्या भनेको बिमा नहुनु हो । एउटा पसल बाहेक अरु कसैको बिमा छैन । त्यस्तै उद्योग वाणिज्य संघमा समेत नविकरण नभएको भन्दै सहयोग गर्न आनाकानी भएको पीडितहरु बताउँछन् । सानो पुँजीबाट शुरु गरेका यि व्यवसायीहरुले व्यवस्थापन कमजोरी गरेको प्रष्ट हुन्छ । तर त्यसैका नाममा सहयोगबाट बन्चित गर्न खोजिएको भन्दै उनीहरु असन्तुष्ट छन् । उनीहरु भन्छन्,–‘यस्तो होला भनेर कस्ले सोंचेको थियो र ? कागजीरुपमा हामी बलियो नभए पनि मानवीयताका नातामा सहयोग त गर्न सकिन्छ नी ? तर अहिलेसम्म कसैले हेरेन ।’

डेण्टल सहित १३ फर्निचर उद्योग जले, तीन करोड बढिको क्षती अनुमान

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     1:14:11 PM