घरबहाल करको ठगी रोक्न न्यूनतम मापदण्ड लागु गर्दै

नेपालगञ्ज १० भदौ – नेपालगञ्ज उपमहानगरपालिकाले घरबहाल कर ठगी गर्ने प्रवृत्ति अन्त्य गर्न चाँडै न्यूनतम घरबहाल कर मापदण्ड लागू गर्दै छ । सर्वसाधारणबाट अत्यधिक पैसा असुलेर सरकारलाई राजश्व नतिर्ने घरधनीलाई लगाम लगाउन उपमहानरपालिकाले यस्तो मापदण्ड लागू गर्ने प्रक्रिया शुरु गरेको हो ।
घरधनीले भाडामा बस्ने व्यक्ति, संघसंस्था तथा फर्मसँग धेरै भाडा असुल गरेर उपमहानगरपालिकालाई थोरै रकमको सम्झौता देखाउने गरेका छन् । भाडा लिँदा १० हजार लिने र नगरपालिकालाई ३ हजारको सम्झौता देखाउने गरिएको छ । घरधनीले उक्त सम्झौताका आधारमा दश प्रतिशत कर बुझाउँदै आएका छन् ।

‘घरबहाल कर ठगी गर्ने प्रबृत्ति रोक्न र आयस्रोत बढाउन न्यूनतम घरबहाल कर मापदण्ड लागु गर्दैछौ ।’– उपमहानगरपालिकाका बरिष्ठ आन्तरिक लेखापरिक्षक खिमानन्द अर्यालले भने–‘उपमेयर ज्यूको राजश्व परामर्श समितिले यस सम्बन्धमा आवश्यक काम शुरु गरेको छ ।’ उपमहानगरपालिकाले वडासंग समन्वय गरेर कुन ठाउँमा घरको न्यूनतम भाडादर कति छन् भन्ने अध्ययन गरिरहेको छ । त्यसैका आधारमा सम्बन्धित ठाउँको न्यूनतम घरबहाल कर तोकिदिन्छौ । सोही आधारमा घरधनीले कर तिर्नुपर्ने भएकाले ठगी रोकिने अर्यालले बताए ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     10:15:26 AM