भञ्सार प्रमुख भन्छन्,–‘नेपालगञ्ज नाकामा तस्करका गुट धेरै’

बाँके १० भदौ – अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटे । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।

तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्रमुख शान्तीराम निरौला लगायत प्रहरी अधिकारीसंग भेटे । व्यवसायीलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले साथ दिएका थिए । व्यवसायीले पछिल्लो समय नेपालगञ्ज भञ्सार कार्यालयमा प्रमुख निरौलाले अवैध सामान तस्करी नियन्त्रणमा कडाई गरेको भन्दै प्रशंसा गरे । व्यवसायीका कुरा सकिए पछि बोल्ने पालो उनकै आयो । अहिलेसम्म एक्लै तस्करी नियन्त्रण गरेको महसुस भए पनि अब भने व्यवसायीको पनि साथ हुने आशा पलाएको भन्दै आफ्नो कुरा सुरु गरे । ‘अब तपाईहरुको पनि साथ पाउने भए खुसी लाग्यो ।’– निरौलाले भने ।

निरौलाले तस्करी नियन्त्रणमा कडा रवैया अपनाएको र त्यसका लागि नेताहरुको फोन आएपनि कुनै प्रवाह नगरेको दावी गर्न भ्याए । उनले भने,–‘कहाँ कहाँबाट फोन आउँछ । मैले मत्तलव राखेको छैन र राख्दिन पनि । यिनले बढिमा मेरो सरुवा गर्ने त हुन । त्यो त मैले चार महिनादेखि नै माग्दै आएको छु ।’ गल्ती नगर्ने हो भने कसैले केही नगर्ने उनको भनाई थियो ।

भञ्सार प्रमुख निरौलाले नेपालगञ्जमा नियमित क्यारिङ्ग गर्ने गुट नै रहेको बताए । उनले भने,–‘यिनको गुट नै २०/२२ वटा रहेछन् । अन्त त यस्तो हुँदैन रे !’ उनले जतिसुकै गुट भए पनि नियन्त्रण गरिएको दावी गरेका छन् । निरौलाका अनुसार गत साउन महिनामा मात्र ६५ वटा भञ्सार छलीका मुद्दा दर्ता गरिएको छ ।

‘तस्करीका कपडा गाउँ–गाउँ पुगे, वैध व्यापारीलाई मर्का भयो’

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     4:04:28 PM