कुन विद्युतीय सवारीमा कुन बैङ्कको ब्याज कति (सूचीसहित)

  • कमला अर्याल /क्यापिटल डटकमबाट

काठमाडौ । मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०१९ मा सवारीसाधन कर्जा (अटो लोन)मा आकर्षक ब्याजदर दिँदै बैङ्कहरु प्रतिस्पर्धामा उत्रिएका छन् । बैङ्कहरुले विद्युतीय गाडीमा सबैभन्दा बढी सुविधासहित आफ्ना योजना ल्याएका छन् ।

नाडा अटो सोमा एक दर्जन बैङ्क तथा वित्तीय संस्थाहरुले अटो लोनसम्बन्धी योजना ल्याएका हुन् । उक्त अटो सोमा एनएमबी, सानिमा, लक्ष्मी, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट, बैङ्क अफ काठमान्डुलगायतका बैङ्कले अटो लोनसम्बन्धी योजना ल्याएका छन् ।

नेपाल राष्ट्र बैङ्कले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेपछि बैङ्कले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने गर्ने अटो लोन योजना ल्याएका छन् । उक्त मेलामा बैङ्कहरुले न्यूनतम ८.५ प्रतिशतदेखि ११.५ प्रतिशतसम्मको ब्याजदरमा अटो लोन प्रवाह गर्दै छन् । विद्युतीय गाडीका राष्ट्र बैङ्कको व्यवस्थापछि स्ट्यान्डर्ड चार्टर्ड, सानिमा, नबिल, एभरेस्ट, एनएमबी, लक्ष्मीलगायत बैङ्कले विद्युतीय गाडीमा ब्याजदर घटाएका छन् ।

गत जेठसम्म बैङ्क तथा वित्तीय संस्थाले कुल १ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ अटो लोन दिएका छन् । गत आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

अटो लोनमा कुन बैङ्कको कस्तो योजना
नबिल बैङ्क

नबिल बैङ्कले विद्युतिय गाडीमा ८० प्रतिशत फाइनान्स र ९.५९ प्रतिशत ब्याजदरमा अटो लोन दिने योजना ल्याएको छ । बैङ्कले अन्य गाडीमा न्यूनतम १०.५९ प्रतिशतमा अटो कर्जा उपलब्ध गराएको छ । अहिले बैङ्ककोे आधारदर ८.०९ प्रतिशत रहेको छ । नबिलले आधारदरमा १.५० प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछ । यो कर्जाको अवधि ७ वर्ष रहेको छ ।

एनएमबी बैङ्क

एनएमबी बैङ्कले पनि विद्युतीय गाडीका लागि ९.९ प्रतिशतमा सवारी कर्र्जा दिने योजना ल्याएको छ । बैङ्कले अन्य गाडीहरुका लागि १३.५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न लागेको छ । बैङ्कको अहिलेको आधार ब्याजदर ९.८६ प्रतिशत छ ।

सेञ्चुरी बैङ्क

सेञ्चुरी बैङ्कले १२.५० प्रतिशतमा सवारी कर्जा दिन लागेको छ । बैङ्कको हालको आधार ब्याजदर ११.२९ प्रतिशत छ । मेलाबाहेक बैङ्कले आधार ब्याजदरमा न्यूनतम १.१२ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिने जनाएको छ ।

ग्लोबल आईएमई बैङ्क

ग्लोबल आईएमई बैङ्कले मेला अवधिका लागि ९.९९ प्रतिशतमै सवारी कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैङ्कले गाडीको कर्जा लिनेलाई ०.४५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने जनाएको छ । बैङ्कले आधार ब्याजदरमा १.५ प्रतिशत भन्दा धेरै प्रिमियम लिएर कर्जा दिने भएको छ ।

जनता बैङ्क

जनता बैङ्कले विद्युतीय सवारीमा ८० प्रतिशत फाइनान्सीङ गर्ने योजना ल्याएको छ । यस बैङ्कले ५ देखि ७ वर्षका लागि न्यूनतमा ब्याजदरमा सवारी कर्जा उपलब्ध गराएको छ ।

एभरेस्ट बैङ्क

एभरेस्ट बैङ्कले ‘तपाईंको गाडी चढ्ने सपना हामी साकार गर्नेछौं’ भन्ने नाराका साथ ९.६६ प्रतिशतान सवारी कर्जा योजना सार्वजनिक गरेको छ । यो ब्याजदर ५ वर्षे अवधिका लागि हो । बैङ्कले मेलामा ७ वर्षे अवधिका लागि १०.१२ प्रतिशतमा कर्जा दिने योजना ल्याएको हो । बैङ्कको आधार ब्याजदर ८.१२ प्रतिशतमा छ । त्यसमा १.५० प्रतिशतदेखि ६.७५ प्रतिशतसम्म प्रिमियम थपेर सवारी कर्जा दिन सक्ने बैङ्कले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्क

यस बैङ्कले ९.३९ प्रतिशतमा सवारी कर्जा योजना ल्याएको छ । बैङ्कले पनि विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म फाइनान्सीङको व्यवस्था गरेको छ ।

एनआइसी एसिया बैङ्क

एनआईसी एसिया बैङ्कले ९.५ प्रतिशत ब्याजदरमासवारी कर्जा उपलब्ध गराएको छ । विद्युतीय सवारीमा ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था गरेको छ ।

सानिमा बैङ्क

सानिमा बैङ्कले मेलालाई लक्षित गर्दै १०.४९ प्रतिशतमा सवारी कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैङ्कले विद्युतीय र अन्य गाडीका लागि पनि ब्याजदर एकै बनाएको छ ।

लक्ष्मी बैङ्क

लक्ष्मी बैङ्कले विद्युतीय गाडी खरिदमा आधार ब्याजदरमा १ प्रतिशत थपेर सवारी कर्जा प्रवाह गरेको छ । बैङ्कले अन्य गाडीको खरिदमा आधार ब्याजदरमा २ प्रतिशत थप गरेर कर्जा दिनेछ ।

माछपुच्छ्रे बैङ्क

माछपुच्छ्रे बैङ्कले मेलालाई लक्षित गर्दै १०.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा ल्याएको छ । बैङ्कको आधार ब्याजदर १०.३७ प्रतिशत छ । यो ब्याजदरमा सेवा शुल्क शुन्य दशमलव ५ प्रतिशत जोडिनेछ ।

नेपाल एसबीआई बैङ्क

नेपाल एसबिआई बैङ्कले मेलालाई लक्षित गर्र्दै ब्याजदर ९.९ प्रतिशतमा सवारी कर्जा दिन लागेको छ । ब्याजदर सोमबारदेखि आगामी तीन महिनासम्म कार्यान्वयन हुने बैङ्कले जनाएको छ । बैङ्कको हालको आधार ब्याजदर ९.७२ प्रतिशत छ । अरु समयमा बैङ्कले आधार मूल्यमा १.२५ प्रतिशतदेखि ५.५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिने जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     4:09:45 PM