निजीक्षेत्रलाई अंकुश लगाउन खोजिदै छ : उद्योग वाणिज्य महासंघ कोषाध्यक्ष केसी

सुर्खेत भाद्र १२ । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष निरक केसीले स्थिर सरकार आएपछि फस्टाउने र मौलाउने आशमा बसेको निजीक्षेत्र पछिल्लो समय निराश र हतोत्साही हुँदै गएको टिप्पणी गर्नुभएको छ।
केन्द्रीय कार्यकारिणी समितिको कोषाध्यक्ष भएपछि गृह जिल्लाको सुर्खेत उद्योग वाणिज्य संघले विहीबार वीरेन्द्रनगरमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राज्यले कर असुल्ने र निजी क्षेत्रलाई अंकुश लगाउने नियतले विभिन्न ऐनकानून बनाइरहेको उल्लेख गर्दै कोषाध्यक्ष केसीले यसबाट निजी क्षेत्र झन त्रसित र हतोत्साही हुँदै गएको जिकिर गर्नुभयो ।
गाउँ गाउँमा सिंहदरबार आएपछि सेवा र सुविधापनि गाउँ गाउँसम्मै आउँछन किन भनेर आशातित भएका बेला जन प्रतिनिधिसमेत पाल्नुपर्ने गरी करको भार थोपरिएको भन्दै उहाँले असन्तुष्टिपनि जनाउनु भयो ।ऐन कानून ल्याउँदा सम्बन्धित पक्षसंग परामर्श र सरसल्लाह गरेर मात्र ल्याउनुपर्ने लोकतान्त्रिक प्रक्रिया विपरित सरकारले दुईतिहाइको आडमा निजीक्षेत्रलाई तर्साउने गरी कानून बनाइरहेको आरोपपनि उहाँले लगाउनुभयो ।दुईतिहाइको स्थिर सरकाले जुन उत्साह थप्नुपर्ने हो त्यो थपेन बरु उल्टै हतोत्साही बनायो कोषाध्यक्ष केसीले भन्नुभयो यसरी पूँजी पलायन हुनसक्ने सम्भावना झनै बढेको छ ।


कार्यक्रममा महासंघको कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले राज्य र विद्रोही दुबैको कोपभाजनमा सधैं निजी क्षेत्रनै पर्ने गरेको टिप्पणी गर्नुभयो ।निजी क्षेत्रलाई झन संकुचित बनाउने खालका १४ वटा नयाँ कानून आउन लागेको उल्लेख गर्दै शाहीले त्यसको प्रत्यक्ष प्रभाव निजीक्षेत्रलाई मात्र नभई मुलुकको अर्थतन्त्रलाईपनि पर्ने दाबी गर्नुभयो ।
राज्यको कार्यशैली र प्रवृत्तिप्रति निजी क्षेत्र विश्वस्त हुन नसकेको भन्दै अध्यक्ष शाहीले राज्यबाटै निजीक्षेत्रलाई अंकुश लगाउने कार्य हुन नहुनेमा जोड दिनुभयो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आर्थिक र भौगोलिक रुपले समेत सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशको निजी क्षेत्रले केसीबाट धेरै अपेक्षा गरेको उल्लेख गर्नुभयो ।


अहिलेपनि थुप्रै नीतिगत तथा प्रशासनिक समस्याहरु निजी क्षेत्रले सामना गर्नपरिरहेको जिकिर गर्दै अध्यक्ष रावतले सांगठनिक सृदृढिकरणसंगै आर्थिक सुदृढिकरणमा पनि नेतृत्वदायी भूमिका खेल्न सुझाव दिनुभयो ।संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले महासंघको वर्तमान नेतृत्वले विगतमा जस्तो हस्तक्षेपकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि पोख्नुभयो ।


राज्यले एकपछि अर्को गर्दैनिजीक्षेत्रलाई निराश बनाउने कार्यहरु गर्दै जाँदापनि महासंघको नेतृत्व बैठक र छलफलमै रुमल्लिनु दुःखद भएको भन्दै उहाँले विगतमा जस्तै प्रभावकारी नेतृत्व दिन केसीलाई सुझाव दिनुभयो ।
इलेक्टोनिक्स वस्तुगत समितिका अध्यक्ष भुवन ज्ञवालीले ठूला व्यवसायीका ठूला समस्यामा मात्र केन्द्रीत नभई साना व्यवसायीका साना समस्यामा पनि ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । संघका महासचिव लक्ष्मण कंडेलले सञ्चालन गरेको कार्यक्रममा वरष्ठि उपाध्यक्ष हर्षविक्रम खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ १२, २०७६     6:11:53 PM