सन्देश र प्रतिक ट्राभल्स् ‘मर्ज’, अन्र्तराष्ट्रिय हवाई टिकटदेखि ‘टुर प्याकेज’मा काम गर्ने

नेपालगञ्ज १३ भदौ – सन्देश ट्राभल्स् र प्रतिक ट्राभल्स् एकआपसमा ‘मर्ज’ भएर ‘नेपालगञ्ज होलीडेज प्राली’ बनेको छ । यि दुवै ट्राभल्स्ले नेपालगञ्जमा रहेर लामो समयदेखि एयरलाइन्सको टिकटिङ्गको सेवा दिदै आएका थिए । तर अब अन्र्तराष्ट्रिय टिकटिङ्गदेखि धार्मिक तथा पर्यटकियस्थलको बिशेष प्याकेज सञ्चालन गर्ने गरी नयाँ काम शुरु गर्न लागिएको छ ।

सन्देश श्रीराम सिग्देलको हो भने प्रतिक तिलक बिकको हो । ‘टिकटिङ्गसंगै पर्यटकका लागि बिशेष प्याकेज बनाउने गरी काम शुरु गर्छौ ।’– सिग्देलले भने,–‘नेपालगञ्जको ट्राभल्स क्षेत्रको दायरा फराकिलो बनाउने बिश्वास गरेका छौं ।’ अन्र्तराष्ट्रिय हवाई टिकटका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता रहेको छ । तर अब नेपालगज होलीडेजले उक्त सेवा दिने सिग्देलको भनाई छ ।

नेपालगञ्जमा कयौं ट्राभल्स एण्ड टुर रहे पनि उनीहरु टिकट बेच्नमै निर्भर छन् । टुर प्याकेज बनाउन ध्यान नदिइरहेका बेला अब भने त्यसतर्फ पनि ध्यान केन्द्रित भएको छ । उनीहरु नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्समा आवद्ध भई नयाँ काम गर्ने योजना बनाइरहेका छन् । एशोसिएशनको बाँके अध्यक्ष एवं पत्रकारिता क्षेत्रमा समेत सक्रिय सिग्देलले बाँके, बर्दिया लगायत पश्चिम क्षेत्रको पर्यटकियस्थलको प्रचार, प्रसारमा पनि आफुहरुले काम गर्ने बताए । ‘यसक्षेत्रको पर्यटन विकासमा पनि योगदान दिन चाहान्छौ । अन्तका धार्मिक तथा पर्यटकियस्थलमा पर्यटकलाई लैजाने मात्र नभई यहाँ ल्याउने पनि हाम्रो उदेश्य हो ।’– सिग्देलले भने ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     3:20:58 PM