राष्ट्रिय मुद्दा बन्यो ‘गौहत्या’ प्रकरण, दोषीलाई कारवाही गर्न माग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका गाई सुर्खेतको जंगलमा मृत भेटिएको बिषय राष्ट्रिय मुद्दा बनेको छ । आज दिनभर प्रमुख अनलाईन संचारमाध्यम, टेलिभिजन र सामाजिक सञ्जालमा उक्त प्रकरणले प्रमुख स्थान पायो । राष्ट्रिय जनावर र धार्मिक आस्थासंग जोडिएको अति संवेदशिल विषमा उपमहानगरपालिकाले गम्भीर लापरवाही गर्दा नेपालगञ्ज मात्र नभई देशभर हलचल ल्याईदिएको छ ।

सामाजिक सञ्जाज र मुलधारका अनलाईन संचारमाध्यममा गाईलाई भिरबाट खसालेर मारेको भन्ने जस्ता समाचार प्रकाशित भए पछि त झनै आक्रोस बढेको छ । यद्यपी गाईको मृत्यु कसरी भयो भन्ने बिषयमा सुर्खेतका पशुस्वास्थ्यकर्मी र प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट आउने निष्कर्षका आधारमा त्यस सम्बन्धमा आफ्नो धारणा बनाउनु उचित हुन्छ । तर मरेका र घाइते गाईको कहालिलाग्दो दृश्य देख्दा गाई मार्ने उदेश्यले फालेको भन्दा कम देखिदैन ।

गौहत्या प्रकरणमा नेपालगञ्जका सांसद एवं सहकारी विकास मन्त्री मोहमद ईस्तियाक राईले गृहमन्त्राललाई पत्र पठाएका छन् । त्यस्तै नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले गौहत्याको भत्र्सना गर्दै दोषी उपर कडा कारवाही गर्न माग गरेका छन् । अधिवक्ता पदम पाण्डेले धार्मिक आस्था, राष्ट्रियता र संवेदनासंग जोडिएको बिषय भएकाले दोषी उपर कडा कारवाही गर्न माग गरेका छन् । यता नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर सुनिलसिंह हमालले एक प्रेस बिज्ञप्ती जारी गर्दै  घटनाका बिषयमा ध्यानार्कषण भएको बताउँदै प्रशासनसंगको समन्वयमा छानविन समिति गठन गर्ने जानकारी दिएका छन् ।

सुर्खेतको कटकुवा सम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पु¥याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले सो पशु चौपायहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने हमालले बताए ।

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     9:12:22 PM