गाईको मृत्युका विषयमा नेपालगञ्जले बनायो छानविन समिति

नेपालगञ्ज, भदौं १४ । नेपालगन्जको काञ्जिहाउसबाट छाडा पशु चौपाय दैलेख लैजानेक्रममा सुर्खेतको जंगलमा मृत भेटिएको विषयमा छानविनका लागि नेपालगञ्ज उप–महानगरपालिकाले छानविन समिति गठन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका का.वा. मेयर तथा उपमेयर उमा थापा मगरको अध्यक्षतामा शनिबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्वन्धमा स्थलगत अध्ययन गरि सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उच्च अदालत वार एशोसिएसनका अध्यक्ष अधिवक्त विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ । समितिमा अधिकारकर्मी बिश्वजित तिवारी, अधिबक्ता वशन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधी सदस्य र उपमहानगरपालिकाका बरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्य सचिव रहनुभएको छ । समितिले निष्पक्ष छानविन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्रतिवेदनको आधारमा दोषीलाई हदैसम्मको कारवाही गरिने कायवा मेयर मगरले बिश्वास दिलाउनुभएको छ । सर्वदलीय, सर्वपक्षीय बैठक समेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा पवित्र उद्धेश्यका साथ छाडा पशु चौपाय दैलेख पठाउन लगिएकोमा सुर्खेतस्थित कटकुवाको जंगलमा छोडिनुलाई गम्भिरताका साथ लिदै उपमहानगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

उप–महानगरपालिकाका वडा नम्बर २१ पुरैनीमा छाडा पशु चौपाय व्यवस्थापनका लागि अस्थायी रुपमा निर्माण गरिएको काञ्जिहाउसमा रहेका मध्ये २९१ गाई वस्तुलाई नेपालगञ्जदेखि दैलेख स्थानान्तरण गर्ने पवित्र उद्धेश्यका साथ लगिएकोमा केही गाईवस्तुहरु सुर्खेतको कटकुवा भन्ने स्थानमा मृत भेटिएको खबरले उपमहानगरपालिका कार्यपालिका अत्यन्त दुखित भएको बैठकपछि कावा मेयर मगरले बताउनुभयो । गाई वस्तु पु¥याएर फर्केलगत्तै केही पशु चौपायको मृत्यु भएको जानकारी पाएपछि सुर्खेतस्थित प्रहरी, प्रशासन र स्थानीय तहसँग समन्वयमा मृतक गाईको उचित व्यवस्थापन, घाइतेको उपचार लगायतका कार्य भईरहेको भन्दै उहाँले सुर्खेत जंगलमा छोडिएका मध्ये शनिवार साझ सम्म १६६ गाई वस्तु नेपालगञ्जस्थित काञ्जिहाउसमा फिर्ता ल्याइएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले नेपालगञ्ज आफैमा धार्मिक तथा सामाजिक रुपमा अति संवेदनशिल शहर भएको भन्दै सम्पूर्ण नगरवासीमा संयमताका लागि अपिल गरेको छ । साथै उपमहानगरपालिकाले शान्ति, सद्भाव, सहयोग, सहकार्य र सहिष्णुतालाई अझ बढि प्रगाढ बनाईराख्न आम नगरवासीमा हार्दिक अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     8:47:29 PM