सेजनको अध्यक्षमा गौतम, महासचिवमा ओली निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भीम गौतम निर्वाचित भएका छन् ।

सेजनको यहाँ आज सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनबाट उपाध्यक्षमा सरु ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाअध्यक्षमा हिमाल पौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा विनय वन्जरा, कमला अर्याल, सुजन ढुङ्गाना, मुना कुँवर र हेमा विक निर्वाचित भएका छन् ।

अधिवेशनको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए । उनले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै संवेदनशील भई सञ्चार कर्ममा क्रियाशील हुन पत्रकारलाई आग्रह गरे ।

गभर्नर नेपालले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जाँदा सञ्चार क्षेत्रको सही भूमिका छायाँमा परेकाले थप सचेतता जरुरी रहेको बताए ।

कार्यक्रममा सेजनका पूर्वअध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारितालाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     9:20:08 PM