चामल जस्तै धरासायी बने बाँकेका रोजिन उद्योग

  • कमल डाँगी

नेपालगञ्ज – बाँकेका आधा दर्जन रोजिन एण्ड टर्पेन्टाईन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत खर्च बढ्दै जानु, रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि सञ्चालकले धमाधम उद्योगमा ताला लगाउन थालेका हुन् । २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाईन बाँकेको पहिलो रोजिन उद्योग हो । उक्त उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताए । ‘खर्च धान्न मुस्किल भएपछि कति दिनसम्म उद्योग चलाउने ? तीनवर्षसम्म घाटा खाएर चलाए । अब चलाउँदिन ।’–निरासा पोख्दै खनालले भने । बचेखुचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द हुने छ । १५ सय मेट्रिक टन रोजिन उत्पादन क्षमता भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् ।

खनालले उद्योग बन्द भएपछि उद्योगमा कार्यरत कर्मचारीलाई बिदाई गरेको जानकारी सहितको पत्र श्रम कार्यालयमा पठाउने तयारी गरिरहेका छन् । बाँकेमा खनाल बाहेक, बंगलामुखी, मनकामना, गंगा, लक्ष्मी जस्ता रोजिन उद्योग छन् । लक्ष्मी धेरै पहिले बन्द भई अरुले नै खरिद गरी सञ्चालनमा ल्याएका थिए ।  यि उद्योगमा झण्डै एक अर्व लगानी छ । एउटा उद्योगमा न्यूनतम रु ५ करोडदेखि अधिकत्म २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग बन्दप्राय रहेको खनालले जानकारी दिए । उनले भने,–‘पुरानो कच्चामालको काम भइरहेको छ । नयाँ कच्चा पदार्थ ल्याएर कसैले उत्पादन गर्ला जस्तो लाग्दैन । सबै निरास छन् । उद्योग बन्दकै अवस्थामा छ ।’

रोजिन एण्ड टर्पेन्टाईन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख बस्तुमा पर्छ । गत आर्थिक वर्षमा २०७५/०७६ मा नेपालगञ्ज नाका हुँदै भारतमा रु ५० करोड मुल्य बराबरको ४७ लाख ६६ हजार किलो रोजिन/खोटो निर्यात भएको थियो । त्यस्तै रु १६ करोडको तार्पिन तेल निर्यात भएको नेपालगञ्ज भञ्सार कार्यालयले जानकारी दिएको छ । पछिल्ला वर्षहरुमा रोजिनको निर्यात पनि घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/०७३ मा रु ७४ करोड बराबर मूल्यको ५४ लाख किलो रोजिन भारत निर्यात भएको थियो ।

‘तीन वर्षदेखि लगातार घाटा खानुपरेको छ ।’ खनालले भने–‘अहिले सहनै नसक्ने अवस्था आएको मात्र हो ।’ खनालका अनुसार, उद्योग बन्द हुने परिस्थिती बन्नुमा रोजिनप्रति स्वदेशमा अस्पष्ट नीति र रोजिनको प्रमुख बजार भारतमा यसको मूल्य घट्नु हो । बिभिन्न औषधी बनाउन प्रयोग गर्ने भएका कारण भारतमा रोजिनको माग धेरै छ । तीन तहका सरकारलाई बितरण गर्ने गरी कच्चा पदार्थको रोयल्टी बुझाउनुपर्दा महङ्गो हुन गएको खनालले बताए । उनले भने ‘रोयल्टी बढ्यो, कच्चा पदार्थ ल्याउन लैजान छुटपुर्जीका नाममा अनेक झण्झट हुन थाल्यो । बैंकको ब्याज बढ्यो । यति नै बेला भारतमा भाउ घट्यो ।’ खनालका अनुसार तीन वर्ष प्रति किलो ७२ रुपैयसम्ममा बिक्री हुने रोजिनको मूल्य तीन वर्षदेखि ६२ रुपैयामा झरेको छ । उक्त मूल्यमा बिक्री गर्दा लागत नै नउठ्ने उद्योगीहरुले बताए ।

सरकारले कुनै प्रकारको सहुलियत नदिए पछि उद्योगमा ताल्चा लगाउनुपर्ने बाध्यता आएको खनाल बताउँछन् । उनी भन्छन्,–‘केही न केही सुविधा दिने हो भने उद्योग राम्रोसंग फेरी चल्छन् ।’ रोजिनको कच्चा पदार्थ पहाडमा पाइने सल्लाहको खोटो हो । सामुदायिक वनबाट उपलब्ध हुने त्यस्तो खोटो संकलनबाट पहाडमा समेत थुप्रै रोजगारी सिर्जना भएको छ । उद्योग बन्द हुँदा झण्डै दुई हजार रोजगारी संकटमा परेको खनालले बताए । उनले भने,–‘मेरो उद्योगमा मात्र ३ सय कर्मचारी छन् । उनीहरुलाई बिदाई गर्दैछु ।’ बाँकेका केही रोजिन उद्योगमा ६ सयसम्मले रोजगारी पाएका छन् ।

दिवाकर खनाल, सन्चालक खनाल रोजिन ।

नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख बस्तु रोजिनले चामल उद्योगकै हविगत व्यहोरेको छ । नेपालगञ्ज नाका भएर कुनै बेला बङ्गलादेशसम्म चामल निर्यात गरिन्थ्यो । त्यसका लागि बाँकेमा दर्जनौ साना ठुला चामल उद्योग चौबिसै घण्टा चल्थे । तर समयक्रम बद्लिएसंगै अहिले वार्षिक अर्वौको चामल आयात गरिन्छ । गत आर्थिक वर्षमा मात्र नेपालगञ्ज नाका हुँदै साढे ६ अर्वको चामल आयात भएको थियो । लामो समय रोजिन उद्योगमा बिताएका खनालले सरकारको अस्पष्ट नीतिको पारमा बाँकेका उत्पादनमूलक उद्योग बन्द भएको बताए ।

 

  • यहाँ प्रकाशित कुनै पनि समाचार अनुमति बिना पुन :प्रकाशन गर्न पाइने छैन ।
प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६     7:34:16 AM