नेपाल राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशन यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार बैङ्क तथा वित्तीय संस्थाका नाममा जारी गरेको एकीकृत निर्देशनले अहिले बैङ्करहरु तनावमा परेका छन् । राष्ट्र बैङ्कको सो निर्देशनपछि बैङ्कहरुको नाफामा गिरावट आउने भन्दै बैङ्करहरु तनावमा परेका हुन् । राष्ट्र बैङ्कले सोमबार ब्याजदर अन्तर (स्प्रेडदर)को गणनाविधि परिवर्तन गरेको छ । नयाँ व्यवस्था लागू भए बैङ्कहरुको आम्दानी २२ अर्ब रुपैयाँसम्म घट्ने बैङ्करहरुको भनाइ छ ।

बैङ्कहरुको आम्दानी घट्ने भएकाले स्प्रेडदरमा भएको परिवर्तन उनीहरुलाई चित्त बुझेको छैन । स्प्रेडदरका विषयमा छलफलका लागि बुधबार नेपाल बैङ्कर्स सङ्घले बैठक डाकेको छ । बैङ्कर्स सङ्घका सदस्य तथा प्रभु बैङ्का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले नयाँ स्प्रेडदरमा बैङ्करहरुलाई चित्त नबुझेको बताए । स्प्रेडदरलगायत बैङ्कास्योरेन्स, सीईओ र सञ्चालकको उमेर हद, अन्तरबैङ्क सापटीलाई प्राथमिक पुँजी, कर्जा र निक्षेप (सीसीडी)मा गणना गर्न नपाइने व्यवस्थालगायतका विषयमा छलफल गर्ने शेरचनले जानकारी दिए ।

केन्द्रीय बैङ्कले ल्याएको मौद्रिक नीतिमा स्प्रेडदर ४.५ बाट १ प्रतिशत बिन्दु घटाएर ४.४ प्रतिशत कायम गरेको छ । आगामी असारसम्म स्प्रेडदर ४.४ प्रतिशतमा झार्न निर्देशन दिएको छ । यद्यपि मर्जर र प्राप्ति प्रक्रियामा सामेलन हुने बैङ्कलाई २०७८ असारसम्म पुर्याए हुने व्यवस्था छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २१, २०७६     6:08:27 PM