बैंकर्स संघ बैठक: आम्दानी २४ अर्बजति घट्ने, ब्याजको ‘भद्र सहमति’ बारे अर्को बैठकमा निर्णय

  • बिजमाण्डुबाट

काठमाडौं। बैंकर्स संघको बैठकले राष्ट्र बैंकको स्प्रेडको शुत्र परिवर्तनपछि आम्दानीमा २२ देखि २४ अर्ब रुपैयाँको फरक पर्ने निष्कर्ष निकालेको छ। सोमबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै स्प्रेड हिसाबकिताव गर्दा निक्षेप र ऋण लगानीको अंश मात्रलाई सहभागी गराउनु पर्ने ऋणपत्रको लगानीलाई हटाउनु पर्ने ब्यवस्था गरेको थियो।

नयाँ ब्यवस्था लगू भएपछि बैंकर्स संघले बुधबार बिहान बैठक डाकेको थियो। बैठकमा छलफल हुँदा करिव करिव २४ अर्बजति आम्दानी घट्ने निष्कर्ष निकालिएको छ। संघले काउन्टर साइक्लिकल बफर पनि क्रमश लागू गर्न आग्रह गर्ने भएको छ। अहिले राष्ट्र बैंकले २ प्रतिशतले बफर बढाएर पूँजी कोष अनुपात १३ प्रतिशत कायम गर्नु पर्ने ब्यवस्था गरेको छ।

दक्षिण एसियामै कतै लागू नभएको सन्दर्भमा नेपालमा सुरुमै किन लागू गर्नु पर्यो भन्ने बैंकरको धारणा छ। त्यसैले लागू गर्दा क्रमश गर्नु पर्छ भन्ने सुझाब बैंकरले राष्ट्र बैंकलाई दिने भएका छन्।

यसैगरी बैंकास्योरेन्समा पनि बैंकरले सुझाब दिने भएका छन्। बैंकास्योरेन्सलाई ब्यवस्थित गर्नु पर्नेमा पूर्ण रुपमा रोक लगाउनु गलत भएको निष्कर्ष बैंकरको छ।

आजको बैठकमा डेढ बर्षदेखिको भद्र सहमति खारेज गर्ने भन्ने बिषय पनि उठेको थियो, त्यसलाई एक हप्ता पर सारिएको छ। अर्को साता यस बारेमा आवश्यक निर्णय लिने पनि सहमति भएको छ।

बैंकर्स संघले डेढ बर्षदेखि ‘भद्र सहमति’ का नाममा गर्दै आएको ‘कार्टेलिङ’ बुधबारबाट खारेज गर्ने तयारी गरेको थियो। संघले ब्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत, संस्थागत मुद्दतिमा ९.६ प्रतिशत र बचतमा ६.५ प्रतिशतसम्म ब्याज दिने सहमति गरेको थियो।

निक्षेपको ब्याज अत्याधिक हुँदा ऋणको ब्याज बढ्छ। ऋणको ब्याज उच्च हुँदा अर्थतन्त्रमै समस्या आउँछ भनेर सहमति गरिएको तर्क बैंकरको थियो। नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै बैंकहरुको ब्याज आम्दानी २५ प्रतिशतले घट्ने गरी स्प्रेड दरको शुत्र परिवर्तन गरिदिएपछि सहमति खारेज गर्ने निष्कर्षमा बैंकर पुगेका थिए।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     12:41:55 PM