नेपालगञ्जको विकासमा शहरी विकास मन्त्री राईको जोड, भन्छन–‘विवादमा लाग्नु छैन’

नेपालगञ्ज – शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले मन्त्री भएपछि पहिलो पटक आईतवार गृह नगर नेपलागञ्जका पत्रकारसंग औपचारिक भेटघाट गरे । भेटघाटका क्रममा मन्त्री राईले विकास र समृद्धिका विषयमा मात्र बोलेका छन् । बिवादित कुराबाट टाडा रहन चाहेको बताउँदै मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीसंग कुनै बिवाद नभएको स्पष्ट पारे । उनले विवाद गरेर नभई मिलेर नेपालगञ्जको विकासको काम गरिरहेको र आगामी दिनमा त्यस्तो कार्यलाई प्राथमिकता दिने बताए ।

‘डेढ वर्षको अवधिमा पहिलो पटक औपचारिकरुपमा यहाँहरुसंग भेटघाट गर्दैछौ ।’ मन्त्री राईले भने–‘यसबीचमा हामीले विकास निर्माणको काममा थुप्रै योजना अघि सारेका छौ ।’ मन्त्री राईले डेढ वर्षको अवधिमा भएका कयौं विकास निर्माणका योजनाहरुका बारेमा जानकारी दिएका छन् । उनले आगामी वर्षमा आउने योजनाका बारेमा पनि बताएका छन् ।

बागेश्वरी मन्दिरको सटर लगायतका बिषयमा आफुले कसैलाई हस्तक्षेप नगरेको बताए  । नेपालगञ्जको जनप्रतिनिधि भएको नाताले यहाँको हरेक विषयमा चासो राख्नु आफ्नो दायित्व भएको उनको भनाई थियो । मन्त्री राईले भने,–‘स्थानीय जनप्रतिनिधि भएको नाताले यहाँ भएका हरेक विषयमा चासो र चिन्ता व्यक्त गर्नु मेरो दायित्व हो ।’ मन्त्री राईले आफु कुनै धर्म बिशेषको मन्त्री नभई सबै जनताको मन्त्री भएकाले बागेश्वरी मन्दिरको विकासमा सदैव सहयोग गर्ने बताए । गाई वा मन्दिरका बिषयमा आफुले राजनीतिक नगरेको मन्त्री राईको भनाई छ ।

‘गाईका विषयमा नबोल्नु’ भनिएको बताउदै मन्त्री राईले त्यसप्रति चित्त दुखाएका छन् । केहीले त्यसरी सामाजिक सञ्जालमै लेखेको बताउँदै राईले भने,–‘गाई राष्ट्रिय जनावर हो । यो आस्था र धर्म भन्दा माथिको विषय हो । यो बारेमा काँग्रेस, एमाले, राप्रपाले बिज्ञप्ती निकाल्दा ठिक भयो तर आफ्नै क्षेत्रमा राष्ट्रिय जनावरको हत्या भएका विषयमा मैले बोल्दा नराम्रो भयो ?’ हिन्दुले झैं आफुले पनि गाईलाई श्रद्धापूर्वक हेरेको बताउँदै मन्त्री राईले भने,–‘तपाईले माता भनेर पुजा गर्नुहुन्छ भने गाई मेरो पनि माता हो । यसमा राजनीति गर्नु छैन ।

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     11:40:50 AM