नेपालगञ्जको ‘आर्शीवाद’ र ‘ज्ञानचक्की’ आटा एक दशकदेखि युरोपको बजारमा

बाँके १८ भदौ -केएल दुगड समूह अन्र्तगतको नेपालगञ्जस्थित विकास फ्लोर मिलमा उत्पादन भएको ‘आर्शीवाद’ र ‘ज्ञानचक्की’ आटा युरोपियन देशमा एक दशकदेखि विक्री बितरण भइरहेको छ । कयौं निर्यातमुखी उद्योग बन्द भइरहेका बेला केएल दुगडले भने आटाको निर्यातलाई स्थिर राख्न सकेको छ ।

‘केही वर्षअघि निर्यात ठप्प भएको थियो । अहिले भने न घटेको छ न बढ्नै सकेको छ । बजार स्थिर छ भन्दा हुन्छ’ केएल दुगड समूहका नेपालगञ्ज प्रमुख प्रदिप छाजेडले भने–‘जे होस् युरोपियन बजारमा नेपाली आटाले बजार लिएकै छ ।’ छाजेडका अनुसार आर्शिवाद र ज्ञानचक्की आटा युरोपको जर्मन, ब्रिटेन र एशियाकै जापानमा निर्यात भइरहेको छ ।

यहाँ उत्पादन भएका यि दुई ब्राण्डका आटा वार्षिक पाँच टनसम्म निर्यात हुने गरेको छ । ‘एक दशक भन्दा लामो समयदेखि हामी युरोपको बजारमा छौं । त्यहाँका उपभोक्ताको मन जित्न सफल भएका छौंं ।’– छाजेडले भने । लामो समुद्री यात्रा पार गरेर सामान पठाउनुपर्दा माग हुँदा पनि सामान पठाउन नसकिएको उनी बताउँछन् । ‘अनुदान पनि हट्यो । अर्कोतिर चर्को भाडा तिरेर कन्टेनरमा सामान पठाउनुपर्छ । तिब्र प्रतिस्पर्धाकाबीच हामी युरोपको बजारमा पुगेका छन् ।’ छाजेडले भने–‘यदि सहुलियत हुने अवस्था आयो भने हामी बजार बिस्तार गर्छौ ।’

छाजेडले आटाको गुणस्तर देखेर युरोपको बजारम टिकेको बताउँछन् । उनी भन्छन्,–‘नत्र युरोप जस्तो ठाउँमा एक दशकदेखि कसरी टिक्न सकिन्थ्यो होला र ? गुणस्तरकै कारण हामी त्यहाँ सफल भएका छौं ।’ केएल दुगडको गणनपुरमा विकास फ्लोे मिल रहेको छ । उक्त मिलको सिंगापुर,युएई र चाइनामा समेत आटा निर्यात गर्ने गरेको थियो ।

प्रकाशित मितिः बुधबार, भदौ १८, २०७६     2:05:13 PM