राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

  • कमल डाँगी

नेपालगञ्ज २२ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’ मा पश्चिमको ‘ट्रान्जिट’का रुपमा चिनिने नेपालगञ्जलाई प्राथमिकतामा परेको छैन । पर्यटन क्षेत्रको भविष्य देखेर बाँकेमा होटल लगायत अन्य व्यवसायीले ठुलो रकम लगानी गरिरहेका बेला त्यसलाई प्रोत्साहन गर्ने भन्दा धरासायी बनाउने गरी रणनीति तयार पारिएको हो । उक्त रणनीतिक योजनामा सुदूरपश्चिमको धनगढीलाई पश्चिमको ट्रान्जिट बनाउनुपर्ने उल्लेख छ भने धनगढी–पोखरा–रारा ताललाई सिधा हवाई सम्पर्कसंग जोड्नुपर्ने सिफारिस गरिएको छ । धनगढीमा भारतीय लगायत अन्य पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज, रारा पोखरा घुमाउन सहज हुने उल्लेख छ । प्रदेशलाई केन्द्र बनाएर रणनीति योजना बनेपछि नेपालगञ्जलाई ओझेलमा पार्न खोजिएको देखिन्छ ।

सन् २०१६ देखि २०२५ सम्मका लागि पर्यटनको विकासका लागि उक्त रणनीति तयार भएको हो । २०७२ चैत २६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार उक्त रणनीति कार्यान्वयनमा छ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५, नेपाल सरकारको मध्यावधिक रणनीतिक दस्तावेज हो, जुन नेपालको समग्र पर्यटन विकासका लागि अति आवश्यक मानिएको छ । नेपालको पर्यटन विकासको लक्ष्य हासिल गर्नका लागि दिशाबोध गर्ने मूल पथ–प्रदर्शक दस्तावेजको रूपमा यो तयार भएको छ । दश वर्षको दूरदृष्टि (भिजन) र ५ वर्षको विस्तृत कार्य–योजना (एक्सन–प्लान) को साथमा, कार्यान्वयनको पहिलो पाँच वर्षमा सरकारले प्रमुख चुनौतीहरूको कसरी सामना गर्नुपर्छ भन्ने सवालहरूलाई यो रणनीतिक योजनाले प्रष्ट्याएको छ । यति महत्वपुर्ण रणनीतिमा नेपालगञ्जलाई समेट्न आवश्यक ठानिएको छैन ।

उक्त रणनीतिमा पर्यटन र हवाई उडानका क्षेत्रमा पश्चिमको हब धनगढीलाई बनाउन बिशेष जोड दिइएको छ । नेपालगञ्ज–दिल्ली–पोखरा उडानको चर्चा चलिरहेका बेला रणनीतिक योजनामा भने धनगढी–पोखरा उडान गर्नुपर्ने र पोखराबाट रारातालसम्म हवाई सेवाको पहुँच बिस्तार गर्नुपर्ने जोड दिइएको छ । पर्यटक प्रवाह हुने मुख्यक्षेत्रको रुटमा पोखरा,धनगढी र राराताललाई समेटिएको छ । सन् २०१६ देखि २०२० र २०२१ देखि २०२६ सम्मको नक्सांकनमा सोही रुटलाई सदर गरिएको छ ।

पोखरा–धनगढी–राराताल उडान सिफारिस


रणनीति योजनामा पोखरा र धनगढीबीच सिधा हवाई सम्पर्क जोड्न सिफारिस गरिएको छ । वायुसेवाको पहुँच वा हवाई सुगमता देशको भौगोलिक अवस्थाका कारण पर्यटक नपुगेका स्थानहरूमा आन्तरिक वायुसेवाको पहुँच पु¥याउनु कम चुनौतीपूर्ण नभएको बताउँदै हाल सञ्चालनमा रहेका विमानस्थलहरूको सुधार तथा हवाइसुरक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण संलग्न रहेको पाईएको रणनीतिमा उल्लेख छ ।

प्रतिवेदनमा यस्तो भनिएको छ,– क्षेत्रीय सदरमुकामहरूमा सीधा उडान गर्नुपर्छ ,जसले पर्यटकहरू काठमाडौं आएर फेरि अर्को ठाउँमा जानुपर्ने वाध्यताको अन्त्य गर्दछ । नेपालको वर्तमान हवाई उडानहरुको अनिश्चितताले पर्यटकहरूलाई मर्का परिरहेको र उनीहरूले घुम्न चाहेजतिस्थानहरुमा नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना पुग्न सकेका छैनन् । उनीहरूको समय तथा बजेट बढी खर्च हुने गरेको छ । पहिलो प्राथमिकता पोखराबाट पश्चिमका सहरहरूमा उदाहरणका लागि धनगढीलाई सीधा हवाइ उडान सुरू गर्न दिनुपर्छ र पोखराबाट दुर्गम ग्रामीण क्षेत्र जस्तै रारामा पनि सीधा हवाइ सेवा सञ्चालन हुनुपर्छ । त्यसैगरी पूर्वी नेपालको विराटनगरबाट सोलुको लुक्ला पनि सीधा उडान गर्नुपर्छ । हाल पोखराबाट धनगढी जान पहिले काठमाडौं आएर फेरि धनगढी उड्नुपर्ने बाध्यता छ । सरकारले प्राथमिकताका साथ हवाइ सेवाप्रदायक कम्पनीहरूसँग सम्पर्क र छलफल गरी क्षेत्रीय हवाइ सम्पर्कका लागि पहल गर्न सिफारिस गरिन्छ । पोखरामा निर्माण हुन गइरहेको पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण समयमै सम्पन्न हुनुपर्छ ।

लुम्बिनी र पश्चिममा धनगढी, नेपालगञ्ज नाम छैन

देशकै प्रमुख धार्मिक पर्यटनक्षेत्रमा लुम्बिनी पर्छ । उक्त क्षेत्रलाई पर्यटन रणनीतिक भित्र पार्नु स्वभाविक नै हो । प्रदेशको पर्यटकीय गन्त्व्यको सूचिमा बाँकेलाई केही उल्लेख गरिएको छैन । पढ्नुहोेस् यो–

प्रदेश नं.५ः बृहत्तर लुम्बिनी क्षेत्र नेपालको दोस्रो स्थानमा देखिएको लुम्बिनीले रूपन्देही, कपिलवस्तु र नवलपरासीका सबै बौद्ध स्थलहरू समेट्छ भने चितवन, पाल्पा, गुल्मी, प्युठानसम्मका सांस्कृतिक तथा प्राकृतिक आकर्षणहरू यसै अन्तर्गत पर्दछन् । हाल युद्धस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जालको बिस्तार, सञ्चारको आधुनिक सुविधा, बिजुली लगायतका अनेक सेवा तथा सुविधाहरूका कारण लुम्बिनीको भविष्य फलदायी हुने देखिन्छ । साथै लुम्बिनी– पोखरा– नमोबुद्ध सैलुङ–काठमांडौ– हलेसी– दमक सम्म र लुम्बिनी देखि कांक्रे विहार हुंदै कन्चनपुर जाने बुद्धिष्ट सर्किटको संभावना पनि छ । यो क्षेत्र तथा यसका वरपरका क्षेत्रहरूको विकास गर्नका लागि नेपाल सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको विशेष ध्यान गएको छ ।

प्रदेश नं. ६ कर्णाली– मध्य पश्चिम क्षेत्र कर्णाली प्रदेश विकासको दृष्टिकोणले नेपालमै पछि परेको क्षेत्र हो । प्राकृतिक स्रोतको अपार धनी कर्णाली प्रदेश प्रचुर पर्यटकीय सम्भावना बोकेको थलो हो । विकट, अविकसित, प्रचारमा नआएको, एक प्रकारले गुमनाम भएपनि कर्णाली प्राकृतिक तथा सांस्कृतिक दृष्टिले अथाह सम्भाव्यताको भण्डार हो । सुर्खेतको कांक्रे विहार, दैलेखका सम्पदाहरु र डोल्पाका सास्कृति आर्कषणहरुले अन्य सम्पदाहरूले वर्षेनी लाखौं पर्यटकहरूलाई मोहनी लगाउन सक्छ । यहाँको सर्वाङ्गिण पूर्वाधारहरूको समुचित र शीघ्र विकास नै यहाँको पर्यटन तथा स्थानीय समुदायको विकास र समृद्धिको प्रवेशद्वार खोल्नु हो ।

 

प्रदेश नं. ७ः कैलाली र वरिपरिको क्षेत्र नेपालको हालसम्मको पर्यटकीय परिदृश्यमा कैलालीले आफ्नो स्थान बनाएको छैन तर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको प्रचुरता भने कम छैन । प्राचीन थारू संस्कृति, प्राकृतिक नदी नाला, तालतलैया यहाँको प्रमुख आकर्षण हो । घोडाघोडी ताल कैलालीमा रहेको र रामसारमा सूचीकृत प्रख्यात सिमसार क्षेत्र हो जहाँ झण्डै १४० प्रजातिका रैथाने र घुमन्ते चराहरूको वासस्थान छ । भविष्यमा कैलाली क्षेत्रलाई पर्यटनको दृष्टिले आकर्षक गन्तव्यको रूपमा पनि विकास गर्ने सम्भावना छ । कैलाली क्षेत्रको शान्त वातावरणका बाबजुद यातायातको अपर्याप्तता र अन्य पूर्वाधारको कमीका कारण यसले कम अङ्क प्राप्त गरेको छ । यो क्षेत्र पनि सरकारको विकास योजनाको प्राथमिकतामा परेको क्षेत्र हो ।

सात प्रदेशका प्राथमिकता प्राप्त क्षेत्रहरूका लागि पर्यटन विकासको अवधारणात्मक योजना (प्रदेश ५, सुप र कर्णाली प्रदेश मात्र यहाँ राखेका छौं)

प्रदेश नं. ५ः बृहत्तर लुम्बिनी यो योजनाले लुम्बिनीलाई विविध पर्यटकीय क्रियाकलापको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा लुम्बिनीमा निर्माण हुन गइरहेको अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रको पर्यटनको प्रवद्र्धन र विकासलाई अझ सघाउने छ । बृहत्तर लुम्बिनी क्षेत्रभित्र पाल्पा, चितवन, गुल्मी, नवलपरासी, कपिलवस्तु र प्युठान जिल्ला पर्दछन् । लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास खासगरी वातानुकूलित अत्याधुनिक सुविधा सम्पन्न होटल तथा लजहरू खोल्न, अतिथिहरूका लागि लुम्बिनी पुरातात्विक स्थलका बारेमा बढीभन्दा बढी जानकारी प्रदान गर्न र हाल भइरहेका भन्दा बाहेक नयाँ–नयाँ सेवा सुविधाहरू थप गर्न प्रोत्साहन दिने पनि यो रणनीतिको उद्देश्य हो । लुम्बिनीमा भएका बहुराष्ट्रिय गुम्बाहरू तथा विहारहरूले सांस्कृतिक पर्यटकहरूलाई लक्षित गरी ध्यान, प्रवचनजस्ता आध्यात्मिक क्रियाकलापहरू सञ्चालन गर्न सक्छन् । विश्वभरि नै बौद्ध तीर्थाटनका लागि प्रचार–प्रसार गर्ने, क्षेत्रीयस्तरमा पनि व्यापक प्रचार–प्रसार गर्ने, पर्यटकीय क्रियाकलापहरू बिस्तार गर्ने र पाहुनाहरूको लुम्बिनी बसाइँलाई लम्ब्याउने प्रयास गर्ने जसले गर्दा स्थानीय समुदायहरूको आर्थिक अवस्था सुधारमा सहयोग पुग्दछ ।

प्रदेश नं. ६ः कर्णाली प्रदेश यो योजनाले सांस्कृतिक तथा वातावरण्ीाय दुबै खाले पर्यटन विकासलाई सम्बोधन गर्दछ । कर्णाली प्रदेश प्राकृतिक स्रोत र सम्पदाका हिसाबले सम्पन्न क्षेत्र हो । यहाँ नयाँ नयाँ सम्भाव्य पर्यटन विकास गर्ने अवसर छ । त्यसैले यहाँका नेपालको पर्यटन विकासको चरणगत योजना ज्ञज्ञघ संरक्षित क्षेत्रहरू, एकान्तमा रहेका वा विकासको किरण नपुगेका यस क्षेत्रका सिमसार तालहरू र बृहत् हिमाली पदयात्रा मार्ग (जीएचटी) हरूमार्फत् पर्यटन विकासका पाइला अघि बढाउनुपर्छ । कर्णलीका हुम्ला र जुम्ला जिल्लाहरूका तल्लो भेगको बृहत् हिमाली पदयात्रा मार्गहरूमा यसअघि नै पर्यटनका केही गतिविधि सुरू भइसकेका छन् । रारा राष्ट्रिय निकुञ्जमा पर्यटकीय आकर्षणका पूर्वाधारहरूको विकास गर्ने र यो क्षेत्रमा भएका सेवा तथा सुविधाहरूलाई वर्गीकरण गरी बढीभन्दा बढी पर्यटकहरूलाई आकर्षित गर्दै स्थानीय समुदायको आर्थिकस्तर उकास्न सहयोग पु¥याउने उद्देश्य योजनाले राखेको छ ।

प्रदेश नं. ७ः कैलाली र यसको सेरोफेरो कैलाली जिल्ला र यसको वरपर पर्यटकीय विकास क्षेत्रको यो अवधारणाले त्यस स्थानमा भएका संरक्षित क्षेत्रका स्रोत तथा साधनहरू र कर्णाली नदीको अधिकतम सदुपयोगबाट नयाँ पर्यटकीय गन्तव्य विकासको थालनी गर्ने लक्ष्य लिएको छ । यो योजनाले कैलाली र सो वरपर पर्यटकीय आकर्षणका उपयुक्त गन्तव्य विकास गर्ने र वर्दिया राष्ट्रिय निकुञ्जमा समेत पर्यटनका कार्यहरू सञ्चालन गर्ने सोंच राखेको छ । विभिन्न प्रकारका पर्यटनका कार्यक्रमहरू सञ्चालनमा ल्याई भारतीय पर्यटकहरूलाई समेत आकर्षित गर्ने र स्थानीय समुदायको सहभागितामा आधारित पर्यटन र स्थानीय समुदायकै आय वृद्धि गर्ने योजना कार्यान्वयन गरिने छ ।

नेपालगञ्जमा पनि छलफल

कार्य–समूहहरूले निकालेका निष्कर्षहरूलाई हरेक कार्यशालामा सबै सहभागीबीच (प्लेनरी) पुनः प्रस्तुत गरी विस्तृत छलफल गराइएको थियो । सरोकारवालाहरूसँग परामर्श बैठक गर्ने क्रममा टोलीले नेपालका अन्य प्रमुख गन्तव्यहरू– धनगढी, टीकापुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपालगञ्ज, भैरहवा, भरतपुर, नाम्जे (धनकुटा) तथा इलामको भ्रमण गरेको थियो । ती स्थानहरूमा सहभागीहरूसँग रणनीतिक योजनाका बारेमा गम्भीर छलफल तथा विमर्श गरिएको थियो ।
योजना तर्जुमाको कार्य सम्पन्न गर्नका लागि केन्द्रमा एउटा ‘स्टेयरिङ्ग कमिटी’ गठन गरिएको थियो । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको प्रतिनिधित्व रहेको थियो । योजना तर्जुमा टोलीले हरेक चरणका प्रमुख प्रक्रिया र उपलब्धिहरूलाई स्टेयरिङ्ग कमिटीका पदाधिकारीहरूबीच नियमित तवरले जानकारी गराउने र उहाँहरूबाट उचित सल्लाह सुझाव लिने कार्य गरेको थियो ।
साथै योजना तर्जुमा अवधिमा तयार पारिएका प्रारम्भिक प्रक्रिया (इन्सेप्सन) रिपोर्ट, मध्य–अवधि रिपोर्ट तथा अन्तिम मस्यौदा रिपोर्ट स्टेयरिङ्ग कमिटीलाई पेश गर्ने गरिएको थियो । मस्यौदा योजनालाई काठमाडौंमा प्रमुख पर्यटन सरोकारवालाहरूको बृहत् सहभागितामा एक राष्ट्रिय कार्यशाला आयोजना गरी प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     6:19:38 PM