नेपालगञ्जप्रति विभेदकारी पर्यटन रणनीति, कैलाशको प्रवेशद्धारलाई नजरअन्दाज !

कैलाश दर्शन गर्न नेपालगञ्ज बिमानस्थल आएका भारतीृय पर्यटक । नेपालगञ्ज बिमानस्थलबाट सिमिकोट हुँदै कैलाश जाने गर्छन । तस्वीर – बिबिसी
  • टिप्पणी

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७२ सालमा तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’मा नेपालगञ्जलाई नियतबस प्राथमिकतामा नराखेको बुझ्न कठिन छैन । सन् २०२५ भित्र पश्चिमको धनगढीलाई पर्यटनको नयाँ गन्तव्य बनाएर पोखरा–धनगढी–रारातालमा सिधा हवाई सम्पर्क जोड्ने जस्ता महत्वकांक्षी ‘गफ’ सहितको रणनीतिक योजना कार्यान्वयन हुनेमै आशंका छ । सालमा ल्याउने यस्ता योजना कागजमै सिमित हुने गरेका छन् । नेपालगञ्ज–पोखरा हवाई उडान खर्चालु हुने भएका कारण योजना अनुरुप एयरलाईन्सले उडान भर्न नसकेका बेला दशवर्ष भित्र पोखरा–धनगढी–रारातालमा सिधा हवाई सम्पर्क जोड्न पूर्वाधार तयार गर्नुपर्छ भन्दै सिफारिस गर्दा बिज्ञले के सोचेका थिए, उनीहरुले नै जानुन ।

नेपालगञ्ज पश्चिम नेपालकै पर्यटन र औद्योगक पूर्वाधारको हब हो । यहाँ देशकै आन्तरिक उडानमा व्यस्त मानिने बिमानस्थल छ । जहाँबाट कर्णाली, सुप प्रदेशका हवाई एयरपोर्टको पहुँच छ । खर्चालु भए पनि पोखरा र दिल्लीसंग हवाई सम्पर्क जोड्ने कुरा चलिरहेको छ । तर पर्यटन रणनीति जस्तै नेपालगञ्जप्रति खराव नियत राखेर रणनीति बनाउन बसेकाले भाँजो हाले भने पोखरा र दिल्ली उडानलाई प्रभावित बनाउन सक्छन् । नेपालगञ्ज कैलाश मानसरोवरको प्रमुखद्धार हो । यही नाका हुँदै वर्षेनी हजारौ पर्यटक कैलाश दर्शनमा जान्छन् । रारा, बर्दिया, सुर्खेत, स्वर्गद्धारी, पोखरा समेतको पर्यटकीय गन्त्वयका लागि प्रमुख प्रवेश नाका नेपालगञ्ज नै हो । दैनिक कयौं भारतीय पर्यटक यही बाटो भएर प्रवेश गरेको कुरा पर्यटन रणनीतिमा उल्लेख नहुनु दुर्भाग्य हो । यसलाई व्यवस्थित गरेर लैजाने बिषयमा रणनीतिक योजनामा कुनै कुरा नबोल्नु नेपालगञ्ज माथि जानाजान अन्याय गरेको भन्दा फरक पर्दैैन । पछिल्लो समय बाँकेका पर्यटनक्षेत्रमा बढ्दै गएको गतिविधि र लगानी बढ्दै गएको छ भन्ने रणनीतिक योजना बनाउनेले बिर्सिए ।

नेपालगञ्ज अन्य पर्यटनक्षेत्रको ट्रान्जिट मात्र हो भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । यो आफैमा पर्यटनक्षेत्रका रुपमा रहेको छ । प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, विविधतायुक्त धार्मिक सांस्कृतिक पक्षहरु आफैमा पर्यटनका लागि नयाँ गन्त्व्य बनेका छन् । होमस्टेको विकास भएका छन् । देशकै एकमात्र बाघ संरक्षणको लागि बाँके राष्ट्रिय निकुञ्ज छ । प्रचार,प्रसारको अभाव र सरकारी योजनाकारणको नियतमा खोट भएका कारण यि सबै पक्ष ओझेलमा परेका छन् । बाँकेमा पर्यटनक्षेत्रलाई हेरेरै पाँच तारे सहित दर्जन तारे होटल खुलेका छन् । साना र मझौला होटलको संख्या दैनिक बढ्दै छन् । यस क्षेत्रमा करोडौको लगानी लगाएका व्यवसायीलाई प्रोत्साहन होइन बेलाबखत सार्वजनिक हुने रणनीतिले चोट दिने काम गरेको छ । उनीहरुको लगानी जोखिम हुन्छ की भन्ने सामान्य हेक्का समेत नराखेर बन्न योजना त्यसै पनि कार्यान्वयन हुन सक्दैन । फेरी यो बिषय व्यवसायीको लगानीसंग मात्र जोडिदैन । सिङ्गो बाँके जिल्लाको आर्थिक विकाससंग जोडिने बिषय हो ।

प्रदेश संरचनामा देश गएपछि नेपालगञ्जलाई नियतबस ओझेलमा पारिएको छ । एकपछि अर्को योजना यहाँबाट अन्यत्र सार्ने काम भएपछि यहाँ निरासा छाएको छ । सरकारले चारवर्ष अघि सार्वजनिक गरेको रणनीतिक योजना पनि त्यसैको उपज हो । सरकारले यस्ता योजना ल्याईरहन्छन्, कति कार्यान्वयन हुन्छन् कति हुँदैनन् । तर जति बनेका छन् त्यसमा नेपालगञ्ज नसमेटिनु राम्रो होइन । प्रदेशको राजधानी केन्द्रीत योजना बनाउँदा ५ नम्बर प्रदेशमा लुम्बिनी, कर्णालीमा सुर्खेत र सुपमा धनगढी समेटिन्छन् । नेपालगञ्जलाई ओझेलमा पारिन्छ । आवश्यकता र औचित्यका आधारमा योजना बनाउनुपर्नेमा राजनीतिक र प्रशासनिक पहुँचका आधारमा बन्ने योजनाले संघीयताको मर्म माथि नै प्रश्न उब्जाएको छ । धनगढी, सुर्खेत र लुम्बिनीको विकासप्रति नेपालगञ्जको सांघुरो सोंच छैन् । ती ठाउँको विकास गर्दैगर्दा नेपालगञ्जलाई धरासायी बनाउने नियत त राख्नु भएन नी ?

बाँके जिल्लाको राजनीतिक र प्रशासनिक शक्ति गुमाएको छ । राजनीतिक दलहरु एकजुट भएर यहाँको विकासका बिषयमा नेतृत्व तहलाई दवाव दिन ढिला भइसकेको छ । आफ्नो वार्षिक कार्ययोजनामा नेपालगञ्ज छुटाएका पर्यटनमन्त्री योगेश भट्रराईले यहाँको नेताहरुको आग्रहमा फेरी समेट्ने बचन दिए जस्ते अन्य योजनामा पनि नेपालगञ्जलाई समेट्न दवाव दिन ढिलाई गर्नु हुँदैन ।

राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज

प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६     7:19:49 AM