नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन, पहल गरे बढ्न सक्छ पर्यटकको ‘फ्लो’

नेपालगञ्ज – भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेशस्थित लखनउमा सिधा बस सेवा सञ्चालनमा ल्याएको छ । नेपालगञ्जका मेयर डा. धवल शमसेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले हरियो झण्डा फहराएर आज बिहान यात्रु सहितको बसलाई लखनउका लागि बिदाई गरे । बसका यात्रुलाई फुलको माला र अविर सहित बिदाई गरिएको थियो । उत्तरप्रदेश परिवहन निगमसंगको सम्झौताको आधारमा बस सेवा सञ्चालन गरिएको अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिएका छन् । दिल्लीसम्म बस सेवा सञ्चालन गर्दै आएको उक्त समितिले अहिले लखनउ र त्यसपछि हरिद्धार रुटमा समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

बस सेवा सञ्चालनको उद्घाटन गर्दै मेयर राणाले सिधा बस सेवा सञ्चालनले नेपालगञ्जमा पर्यटकको फ्लो बढ्ने अपेक्षा गरेका छन् । ‘नेपालगञ्जलाई क्यासिनो सिटी बनाउने र त्यसका लागि लखनउका मान्छे ल्याउन जरुरी छ ।’ मेयर राणाले भने–‘सिधा बस सेवा सञ्चालनले त्यहाँका पर्यटक नेपालगञ्जसम्म ल्याउन सहज हुन्छ ।’

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले लखनउ आवतजावतमा सहज हुने बताए । ‘लखनउ र नेपालगञ्जको सम्बन्ध सदियौं देखिको हो । यातायातको पहुँचले अझ मजबुत बनाउँछ ।’– उनले भने । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल अवैधरुपमा बसहरु सञ्चालन भइरहेका बेला भेरी यातायातले बैधानिकरुपमा बस सञ्चालन गरेको भन्दै धन्यवाद दिए । कार्यक्रममा बोल्दै भेरी यातायात प्रालिका प्रबन्धक उमेश गुरागाईले एसी सुविधा सहितको बस सञ्चालनले यात्रीलाई सहज हुने बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६     10:44:02 AM