सर्वपक्षिय बैठकको निर्णय : पर्यटकका नाममा यात्रु ओसार्ने गाडी सञ्चालनमा रोक

नेपालगञ्ज—जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल—भारतका बिभिन्न शहरमा पर्यटकका नाममा यात्रु बोक्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । आज सोमबार प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षतामा सरोकारवाला निकायबीचको सर्वपक्षिय बैठकले जुन प्रयोजनका लागि अनुमति लिएको हो त्यस बाहेक अन्य प्रयोजनमा सवारीसाधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

बैठकले नेपाल —भारत मैत्री बस बाहेक अन्य सवारीसाधनका हकमा त्यस्तो निर्णय गरेको हो । भारत जाने र त्यहाँबाट आउने बसले अनुमति अनुसारको काम गरे नगरेको अनुमगन गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय जमुनाहलाई दिने निर्णय भएको छ । बैठकले पर्यटक लगेर गएका गाडी तिनै पर्यटक ल्याए नल्याएको पत्ता लगाउन परिचयपत्र समेत हेर्ने भएको छ । आज भएको निर्णय जानकारीका लागि यातायात बिभागमा पठाइने बैठकमा सहभागि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेलले जानकारी दिए ।

पर्यटकका नाममा यात्रु ओसार्ने गाडीका बिरुद्ध होटल व्यवसायी संघले चरणबद्ध आन्दोलन गरेपछि जिल्ला प्रशासण कार्यालयको ध्यानार्कषण भएको थियो । सर्वपक्षिय बैठकमा जिल्ला प्रहरी प्रमुख बिरबहादुर ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, यातायात व्यवसायी संघका प्रतिनिधि लगायतको सहभागिता थियो ।

‘पर्यटक ल्याउने हो भने स्वागत गर्छौ’

पर्यटकका नाममा यात्रु ओसार्ने गाडी रोक्न अघि सरे बाँकेका होटल व्यवसायी

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     6:54:04 PM