रु ३९ करोड लागतमा तयार भयो ‘ल्यान्डफिल साईट’, शहरी विकास मन्त्रीद्धारा उद्घाटन

नेपालगञ्ज २६ भदौ -नेपालगन्ज उपमहानगरपालिका–२३ हिरमिनियाको १३ बिघा क्षेत्रफलमा ल्यान्डफिल साइटको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले आज बिहिवार उद्घाटन गरेका छन् । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ३८ करोड बढि रुपैयाँ लगानीमा आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको हो । ल्याण्डफिल साईटका लागि एक वर्षे सञ्चालन खर्च सहित रु ३८ करोड ९३ लाख ४२ हजार लगानी भएको छ ।

ल्याण्डफिल साईटको उद्घाटन गर्दै शहरी विकास मन्त्री राईले देशकै नमुना काम सम्पन्न भएको बताए । उनले फोहोर व्यवस्थापनका लागि कुनै प्रकारको कठिनाई नहुने स्पष्ट गरे । मन्त्री राईले जिल्लाको समग्र विकासका लागि आफु निरन्तर सक्रिय भएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गरे । नेपालगन्जबाट संकलन भएर ल्यान्डफिल साइटमा जम्मा पारिएका फोहोर छुट्याउने, फोहोर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्ययाकी लगायतका निर्माण भएको छ । ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने ट्यांकी गरिएको छ । आयोजनाले ल्यान्डफिल साइटका लागि आवश्यक पर्ने १२ वटा ई–रिक्सासमेत त्यहाँ पु¥याइसकेको छ ।

फोहोर संकलनका लागि ११ हजार थान ‘डस्टबिन’ ल्याइसकेको छ । फोहोर संकलन गर्ने चारवटा गाडीसमेत ल्यान्डफिल साइटमा पुगिसकेको उनले बताए । ल्यान्डफिल साइटको निर्माण पूरा भएकाले अब फोहोर संकलनका लागि उपमहानगरपालिकाले घर–घरमा डस्टबिन वितरण गर्ने तयारी गरेको छ । सड्ने र नसड्ने फोहोर राख्नका लागि दुई थरिका डस्टबिन ल्याएर वितरण गरिने छ । फोहोर बोक्ने चारवटा ट्रिपर र एउटा सक्सन ट्यांकर पनि ल्यान्डफिल साइटमा व्यवस्था भइसकेको उनले जानकारी दिइन् ।

ल्यान्डफिल साईटमा ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने दैनिक ८ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ । ल्यान्डफिल साईट उद्घाटन समारोहको अध्यक्ष नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले गरेका थिए भने प्रदेश सांसदहरु आईपी खरेल, बिजय यादव, शहरी विकास मन्त्रालय सचिव लगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     3:38:29 PM