मौलिकपन झल्काउँने थारु हस्तकला : पश्चिमको ‘ब्राण्ड’

नेपालगञ्ज २६ भदौ -ललितपुरस्थित मंगलबजारमा आयोजना भएको चार दिने सार्कस्तरिय हस्तकला प्रदर्शनी बाँके नेपालगञ्जकी निरु चौधरी सहभागिता जनाउनुभएको छ । उहाँले थारु हस्तकलाका सामान प्रदर्शन गर्नुभयो, जुन पाहुनाका लागि आर्कषकको केन्द्र बन्यो । पछिल्लो समय थारु हस्तकला पश्चिमको ‘ब्राण्ड’ बन्न सफल भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रोत बनेको छ । केहीवर्ष अघिसम्म दुई पैँसा कहाँबाट हात पार्ने चिन्ता गर्ने थारु महिलालाई अहिले एक–दुई हजार सामान्य भइसकेको छ ।  नेपालगन्ज उपमहानगरपालिकाबाट तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गर्न थालेका छन् । थारु हस्तकलाको काम गर्न थालेपछि अहिले एक–दुई हजार रुपैयाँ हर्जा नहुने गरेको नेपालगन्ज उपमहानगरपालिका–९, की सरिता चौधरीले बताइन् ।

उनले घरमै बसेर मासिक आठ–नौ हजार रुपैयाँ आम्दानी गरिरहेको बताइन् । कुनै–कुनै महिना धेरै आम्दानी हुने गरेको बताउँदै उनले बजारको समस्या नभएको बताइन् । ‘जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ । बजारको चिन्ता छैन,’ उनले भनिन् ।  नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्राकी भागरथी चौधरीले पनि थारु हस्तकलाका सामान उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन् । उनले घरको काम धन्धा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेकी छन् । ‘ढक्की, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रे लगायतका सामान बेचेर महिनामा पाँच–सात हजार कमाई हुन्छ’ उनले भनिन् ।

जंगलबाट कुश अर्थात खर ल्याएर यस्ता सामग्री बनाउँदै आएको महिलाले जनाएका छन् । थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगन्ज उपमहानगरपालिका–१२ की विह्या थारुले बताइन् । उनले भनिन्,’ थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाई खानु परेको छ न त कामको खोजीमा बाहिर जानु पर्ने बाध्यता छ ।’ सामानको प्रकृति हेरेर समय लाग्ने गरेको छ । महिलाले उत्पादन गर्न लागेको समय अनुसार सामानको मूल्य तोक्ने गरेका छन् । महिलाले एउटाको तीनसयदेखि पाँचसय रुपैंयासम्म हस्तकलाका सामग्री बेच्ने गर्छन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगबाट तालिम लिएपछि महिलाहरु हस्तकला सामग्री बनाउन खप्पिस भएका हुन् । ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तालिम लिएपछि आधुनिक र चलन चल्तीमा रहेका प्लाष्टिक, तामा, सिसाका भाँडा जस्तै डिजाइनमा बनाउन सिकेका छौँ,’ उनले भनिन् ।  महिलाले उत्पादन भएका थारु हस्तकलाका सामग्री नेपाल बाहिर पनि विक्री हुने गरेको छ । संगठित भएर थारु हस्तकलाका सामग्री उत्पादन गर्दै आएका महिलाको सामग्री डेनमार्क, अमेरिका, जापान, थाइलाइन्ड जस्ता देशमा जाने गरेको पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले बताइन् ।

उनले उत्पादन भएका सामान काठमाडौँ र पोखराका ब्यापारीले लैजाने गरेको बताइन् । ब्यापारीले महिलालाई सामानको अर्डर गरेपछि बनाउने गरेको बताउँदै उनले अर्डर नआएका बेला मेला, महोत्सव र स्थानीय बजारका लागि बनाउने गरेको उनले स्पष्ट पारिन् । ‘घर र छिमेकीको घरमा गफ गरेर बिताउने समय हस्तकलाका सामान उत्पादन गर्नमा बित्ने गरेको छ,’ उनले भनिन्, ‘काम गर्न थालेपछि एकातिर समयको सदुपयोग भएको छ भने अर्कोतर्फ आम्दानीको राम्रो स्रोत बनेको छ ।’  थारु महिलाले आफूले उत्पादन गरेका सामान विक्रीका लागि काठमाडौँ, पोखरा, सुर्खेत, दाङसम्म पुग्ने गरेका छन् । घरमा विक्री नभएका सामान र आफ्नो सामानको प्रचार प्रसार गर्न मेला, महोत्सवमा लैजाने गरेको उनले बताइन् । महिलाको समूहले मेला, महोत्सवमा थारु खानाको समेत ब्यापार गर्दै आएका छन् । ‘यसले हामीलाई आत्मनिर्भर मात्र बनाएको छैन, आफ्नो लागि आफै कमाउनु पर्छ भन्ने भावनाको विकास पनि गराएको छ,’ निरुले भनिन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     10:20:51 AM