पूर्वप्रधानमन्त्री नेपाल हिजो राती बाँके आएर आज बिहानै फर्किए, भेटघाट गोप्य

फाईल तस्वीर

नेपालगञ्ज २७ भदौ -पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल विहिवार राती नेपालगञ्ज आए । व्यक्तिगत सुरक्षाका खटिने पिएसओ समेतलाई नल्याई आएका पूर्वप्रधानमन्त्री राती कोहलपुरको एउटा घरमा बसे । उनी आएको न जिल्लास्थित सुरक्षा निकायलाई थाहा भयो न पार्टीका नेता तथा कार्यकर्तालाई नै ।
बिहान उठेर काठमाण्डौ फर्किए । उनको भेटघाटलाई अति गोप्य राखिएको छ । उनी के उदेश्यले बाँके आएर एकैरात मात्र बसेर पुन फर्किए भन्ने चासोको विषय बनेको छ । जिल्ला प्रहरी कार्यालयलाई समेत नेपाल आउने पूर्व जानकारी थिए । आइसकेपछि मात्र प्रहरीले थाहा पायो ।
नेता नेपाल बिहिवार साँझ ८ बजे यति एयरलाईन्सबाट नेपालगञ्ज आएका थिए । बिहान ८ :  ४० मा बुद्ध एयरको जहाजबाट फर्किए । कसैलाई नल्याई आएका नेताको भेटघाटलाई कतिपयले बिप्लव माओवादीसंगको वार्तालाई जोडेर पनि हेरेका छन् ।
तत्कालिन बिद्रोही माओवादी र सात राजनीतिक दलबीचको शान्ती वार्ताको माहोल बनाउन महत्वपुर्ण भुमिका निभाएका नेपालले अहिले पनि बिप्लवका उच्च तहका नेतासंग वार्ता गरेकी भन्ने अनुमान गरिएको भए पनि यसको स्वतन्त्ररुपमा पुष्टि भएको छैन ।  नेकपा बाँकेका सचिव अशोक कोइरालाले नेपाल व्यक्तिगत काममा आएको हुन सक्ने बाहेक अरु केही बताएनन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     1:11:18 PM