बाँकेमा ‘चेक बाउन्स’का मुद्दा बढ्दै, व्यवसायमा धेरै समस्या

नेपालगञ्ज २६ भदौ -आर्थिक कारोवार तथा लेनदेनसंग जोडिएका मुद्दा अदालतमा पुग्ने क्रम बढेको छ । व्यक्तिगत लेनदेनदेखि ठुला व्यवसायीक कारोवारमा संलग्न समेत यस्ता मुद्दासंग जोडिएको पाईन्छ । जिल्ला अदालत बाँकेमा मात्र गत आर्थिक वर्षमा चेक बाउन्सका १ सय २१ वटा मुद्दा परे । जस मध्ये ४६ वटा फर्छौट भए भने ७५ वटा बिचाराधिन छन् । अदालतका श्रेष्तेदार यदुराज शर्माका अनुसार, चेक बाउन्स बाहेक आर्थिक लेनदेनका मात्र ९ सय ८५ मुद्दा अदालतमा परेका थिए । त्यस्तै आर्थिक मुद्दासंगै जोडिएको अशंबण्डा त बाँके जिल्ला अदालतमा पर्ने सबैभन्दा धेरै मुद्दाको सूचिमै पर्छ । गत आर्थिक वर्षमा अंशबण्डाको १ हजार ५२ वटा मुद्दा परेको शर्माले बताए ।

पछिल्लो समयमा आर्थिक कारोवारमा चेक बाउन्स गर्ने ठग भेटिन थालेका छन् । व्यवसायीक कारोवारमा यस्ता ठगहरु अझ धेरै छन् । त्यस्ताका बिरुद्ध कानुनी उपचार खोजेर फसेको पैसा असुली गर्नका लागि अदालतको ढोका ढकढक्याउनेको संख्या बढेको हो । सामान्य अर्थमा चेक भन्नाले बैङ्कमा खाता खोलेर जम्मा गरेको रकम झिक्ने कागजात अथवा पुर्जा बुझिन्छ । तर, त्यतिले मात्रै चेकलाई परिभाषित गर्दा पर्याप्त हुँदैन । विनिमय अधिकारपत्र ऐन, २०३४ ले चेक भन्नाले माग्नासाथ भुक्तानी दिनू भनी कुनै बैङ्कउपर खिचिएको विनिमेय पत्रलाई मानेको छ ।

विनिमेय पत्र भन्नाले फलानो मितिमा, यति अवधिपछि, मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्ति, निजले अह्राएकोलाई अथवा सो पत्र लिई आउनेलाई यति रुपैयाँ दिनू भनी एकले अर्कोलाई विनाशर्त निर्देश गरी दस्तखत गरिएको लिखत सम्झनुपर्छ । चेक एउटा विनिमयपत्र हो । यसलाई सामान्य अर्थमा लेखिएको व्यक्तिलाई यति रुपैयाँ भुक्तानी दिनू भनी कुनै एक व्यक्तिले बैङ्कउपर खिचेको एउटा विनिमयपत्रका रूपमा बुझ्न सकिन्छ । चेक बैङ्कलाई रकम भुक्तानी दिने लिखित आदेश हो यो विनाशर्त हुनुपर्छ । साधारणतया एउटा चेकमा चेक खिच्ने (ड्रयर), चेकको भुक्तानी दिने (ड्रयी), चेकको भुक्तानी लिने (पेयी) गरी तीनओटा पक्ष हुन्छन् ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     4:19:04 PM