जिवित बच्चालाई मृत घोषणा गरेपछि…….

नेपालगञ्ज -२३ हप्ताको गर्भवतीले जन्माएको जिवित शिशुलाई भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले मृत भन्दै गाड्न पठाए । परिवाजनले गाड्न लैजादा बच्चा जिवित पाइएपछि पुन उपचारका लागि अस्पताल फर्काइएको छ । घटना शुक्रवारको हो ।

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करीब ५ बजे सामान्य रुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइयो । शिशु जन्मिएपछि खुशी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारी गर्न थाले ।

शिशुलाई अस्पतालले मृत घोषित गर्दै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो । त्यसपछि फेरी अस्पतालमै फर्काइएको छ ।

शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६ सय ग्राम रहेको छ । यता भेरी अन्चल अस्पतालले अवधि भन्दा पहिल्यै बच्चा जन्मिएको बताउँदै शुक्रवारको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा सुधार गर्ने जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     5:17:41 PM