भ्रमण वर्षलाई लक्षित गरेर हवाइजहाज र हेलिकप्टर थपिँदै

  • सुवास योन्जन/ क्यापिटल नेपालबाट

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी विमान कम्पनीहरुले धमाधम हवाईजहाज र हेलिकप्टर थपिरहेका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष मनाउन लागिरहेको बेला यसलाई लक्षित गरी विमान कम्पनीहरुले हवाइजहाज र हेलिकप्टरको सङ्ख्या बढाएका हुन् । भ्रमण वर्ष आउँदो पुसको दोस्रो सातादेखि सुरु हुँदै छ ।

पछिल्लो समय जहाज र हेलिकप्टर थप्ने व्यवसायीबीच होडबाजी नै चल्न थालेको छ । व्यवसायीहरुले एकपछि अर्को जहाज र हेलिकप्टर ल्याउन थालेका छन् । भ्रमण वर्षको छेको पारेर नयाँ कम्पनी मुस्ताङ हेलिकप्टरले समेत उडान गर्ने तयारी गरिरहेको छ । मुस्ताङले अक्टोबरदेखि व्यावसायिक उडान गर्न २ ओटा हेलिकप्टर ल्याउने तयारी गरिरहेको छ । ४ ओटा हेलिकप्टर ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति लिएको छ ।

भ्रमण वर्षलाई नै लक्षित गरी कैलाश हेलिकप्टरले एक महिनाअघि मात्र नयाँ हेलिकप्टर थपेको छ । २ ओटा हेलिकप्टरमार्फत सेवा दिँदै आएको कैलाशसँग अहिले ३ ओटा हेलिकप्टर पुगेका छन् । भ्रमण वर्षमा आउने विदेशी पाहुनाको स्वागतका लागि हेलिकप्टर थपिएको कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले बताए ।

मनाङ एयरले पनि भ्रमण वर्षलाई नै लक्षित गरेर एक सातापछि नयाँ हेलिकप्टर थप्न लागेको छ । मनाङ एयरका बजार प्रमुख राजु न्यौपानेले पछिल्लो समय स्वदेशी एवम् विदेशीहरुको रोजाइमा हेलिकप्टरहरु पर्ने गरेको बताउछन् । भ्रमण वर्षमा धेरै पर्यटक नेपाल आउने भएकाले पनि हेलिकप्टरको सङ्ख्या थपेको उनको भनाइ छ ।

अहिले नेपाली आकाशमा निजी क्षेत्रका मात्रै २५ ओटा हेलिकप्टर उडिरहेका छन् । विशेषगरी हिमाली क्षेत्रमा ती हेलिकप्टर प्रयोग हुँदै आएका छन् । खोज तथा उद्धार र पारिवारिक भ्रमणमा पनि हेलिकप्टर प्रयोग हुने गरेको छ । पछिल्लो समय भारतीय पर्यटक हेलिकप्टरमार्फत मानसरोवर जाने गरेका छन् । त्यसैले पनि धेरै हेलिकप्टरको आकर्षण त्यसतर्फ हुने गरेको हो ।

हेलिकप्टरसँगै जहाजको सङ्ख्या पनि थपिने क्रम जारी छ । विशेषगरी बुद्ध एयर र यती एयरलाइन्सले धमाधम जहाज थपिरहेका छन् । केही समयअघि मात्र बुद्ध एयरले नयाँ जहाज थपेको छ । अर्को महिना पनि जहाज ल्याउने तयारी गरेको छ । हाल बुद्धसँग १३ ओटा जहाज छन् । भ्रमण वर्षमा आउने पर्यटकलाई सहज रुपमा यात्रा गराउने उद्देश्यका साथ हवाई कम्पनीहरुले जहाज थपिरहेका हुन् ।

यती एयरलाइन्सले पनि केही महिनाअघि नयाँ जहाज थपेको छ । उसले केही महिनाभित्रै नयाँ जहाज ल्याउने तयारी गरिरहेको छ । अहिले यतीसँग १० ओटा जहाज छन् । सीता एयरलाइन्सले ४ ओटा एटीआर जहाज थप्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आगामी वर्षबाट व्यावसायिक उडान गर्न जहाज खरिदका लागि पर्यटन मन्त्रालयबाट अनुमति पाइसकेको छ । सीतासँग हाल ड्रोनियरका ४ ओटा जहाज छन् । अहिले सौर्य र सिम्रिक एयरलाइन्सले पनि नयाँ जहाज थप्न गृहकार्य गरिरहेका छन् । आगामी वर्षमा नयाँ जहाज ल्याउने ती एयरलाइन्सका तयारी छ

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     10:01:25 AM