यि हुन नगर बसको परिचालक बन्न आँट गर्ने महिला

तस्वीर : गोविन्द शर्मा

नेपालगञ्ज २ असोज -नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको ‘नगर बस’का महिला परिचालक सह–चालक यतिवेला ‘डे«स’ बनाउन व्यस्त छन् । उनीहरुले विहिवार कपडाको नाप लिएका लिए । ‘पिंक टिसर्ट’, खैरो ‘पाईन्ट’, ‘क्याप टोपी’ बसका सह–चालकको ‘डे«स कोड’ बनाइएको छ । ‘टेलरलाई डे«स राम्रो र छिटो बनाइदिनु भनेका छौं’ मोहिनी थापाले भनिन् ।

‘डे«स’को काम सकिने वित्तिकै सम्भवत बस सञ्चालनमा आउने छ । त्यसपछि पुरुषले मात्र गर्दै आएको मानिने परिचालक को काम मोहिनी थापा सहित सुनीता परियार, अनीता खत्री,कमला सुनार,गीतादेवी धामी,मालतीदेवी डगौरा, विमला कुमालको दैनिकी बन्नेछ । आमसामाजिक गलत सोंचाईलाई तोड्ने हिम्मत राख्ने यि सात महिला यतिबेला ‘डे«स’ सिलाउने काममा मात्र व्यसत छैनन्,अब गर्नुपर्ने काममा बारेमा चिन्तन मनन् समेत गरिरहेका छन् । सुनीता भन्छिन्–‘नयाँ काम आँटेका छौं । कस्तो हुने हो कसरी गर्ने हो भन्ने सोंच्छौ ।’

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र सञ्चालन गर्नका लागि सातवटा बस खरिद गरी ल्याइसकेको छ । ती बसका चालक समेत महिलालाई राख्ने पूर्व योजना अनुसार, नगरपालिकाले २५ जना महिलालाई सवारी चलाउन तालिम दिएको थियो । तालिम लिने मध्येबाटै यि सातजनाले परिचालक लागि आवेदन दिएका हुन । ‘घरमै त्यत्तिकै बसिरहेकी थिए । यहाँ बस सहचालकको आवेदन मागेको छ भन्ने सुनेपछि फारम भरे ।’– छ वर्ष बैदेशिक रोजगारी गरेर फर्किएकी बर्दियाकी कमला सुनारले भनिन्–‘महिलाले गर्न नसक्ने के छ र भन्ने देखाउन पनि आवेदन भरेकी हुँ । नाम पनि निस्कियो ।’

गणेशपुरकी सुनीता परियार सिलाईकटाई काम गर्दै आएकी थिईन । घरकी एक्ली छोरी उनले परिवार पाल्नुपर्छ । कामको खोजीमा भएकै बेला उनले बस सहचालकमा नाम निकालेकी छन् । ‘धेरै जनाले पुरुषले गर्ने काम कसरी गर्न सक्छौ भनेर प्रश्न गर्छन । तर हामी काम गरेरै कोही भन्दा कम छैनौ भन्ने देखाउँदै छौं ।’– सुनीताले भनिन् ।

बसका सहचालकलाई प्रशिक्षण दिइएको छ । कसरी भाडा उठाउँने र यात्रुसंग कस्तो व्यवहार गर्ने भन्ने सिकाइएको छ । महिला सहचालकलाई यात्रुले कस्तो व्यवहार गर्लान भन्नेमै उनीहरुको सफलता र असफताको परिक्षा हुने छ । आरती चौधरी भन्छिन्–‘यात्रुहरु प्रति हाम्रो संधै सम्मान रहनेछ । उहाँहरुबाट पनि हामीले त्यस्तै अपेक्षा गरेका छौं ।’ चालक रहेका श्रीमानकै प्रोत्साहनबाट सहचालक बनेकी अनीताले महिलालाई परम्परागत काम गर्न बाध्यता नभएको बताउँदै भन्छिन्–‘महिलाले सातातिना मात्र काम गर्छन भन्ने भ्रम तोड्दै छौं ।’ नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो पटक नगरबस सञ्चालन गर्न लागेको हो । त्यो पनि महिला सहचालक राखेर । उपमहानगरपालिकाका लागि यो काम चुनौतीपूर्ण भए पनि सफलताको लागि सबैको सहयोग भने चाहिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले महिला सशक्तीकरणका लागि महिला परिचालक राखिएको बताए । उनले परिचालकलाई भविष्यमा चालक बनाउने योजना रहेको जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, अशोज २, २०७६     1:31:50 PM