कालिका ग्यावियन एण्ड वायर उद्योग उद्घाटन, पश्चिमको बजार मुख्य ‘टार्गेट’

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड वायर ईण्डष्ट्रिज प्रालि आज आईतवारबाट सन्चालनमा आएको छ । उद्योगमा ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन हुने अध्यक्ष बिमला केसीले जानकारी दिइन । ‘उत्पादनमुलक काम नगर्दासम्म देशमा आर्थिक उन्नती हुने सम्भावना देखिन्न्’ लामो समय राजनीतिमा सक्रिय भई उत्पादनमुलक उद्योगमा हात हाल्नुभएकी महिला नेतृ केसीले भनिन–‘त्य्ही सोंचेर उद्योग खोलेका हौं ।’

उद्योगको उद्घाटन प्रदेश सांसद कृष्णा केसी नमुनाले गरिन । कार्यक्रममा पूर्व मन्त्री अमर पुन, नेपालगञ्ज उपमहानगरपालिकी उपमेयर उमा थापमगर, नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, नेकपा प्रदेश नं. ५ का सदस्य डम्बर बिक तुफान, नेकपाका नेता भिम केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ सदस्य बसन्त लामिछाने लगायतको सहभागिता रहेको थियो ।

‘ग्याविन तारको स्थानीय माग पुरा गर्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो’ -उद्योगकी अध्यक्ष केसीले भनिन ।  पश्चिम नेपालमा पूर्वाधार निर्माणको काम बढ्दै गएकाले स्वत ग्याविन तार,जालीको माग बढ्ने निश्चित छ । सडक, पुल पुलेसा, तटबन्ध जस्ता कामहरु बढ्दै गएका छन् । त्यसलाई हेर्दा यहाँ तारजालीको माग बढ्ने निश्चित छ ।’यस्ता सामाग्रीहरु पुर्वबाट मगाउनुभन्दा यही उत्पादन गरेर बिक्री गर्दा प्रभावकारी हुन्छ । उक्त उद्योगमा अत्याधुनिक मेशिनहरु जडान गरिएको छ  । प्रति घण्टा १ सय ५० देखि २ सय ५० मिटर तारजाली उत्पादन गर्ने क्षमताका मेशिन जडान गरिएको छ । कार्यक्रमको सन्चालन उद्योगका सन्चालक ललित चन्दले गर्नुभएको थियो । उद्योगबाट ५० देखि सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     4:22:28 PM