सिमापारी नेपालीको दशैं किनमेल : प्रदेश ५ का मुख्य शहरका व्यवसायी हैरान

नेपालगञ्ज १६ असोज – प्रदेश ५ का मुख्य शहर बजारको व्यवसाय सिमावर्ती भारतीय बजारको मारमा परेका छन् । दशैले जताततै धपक्क छोपी सक्दा पनि यहाँको बाँकेको नेपालगञ्ज, रुपन्देहीको बजारहरुमा यस वर्ष खासै चहलपहल देखिएन । सिमावर्ती भारतीय बजारमा ग्राहकको घुंईचो लाग्दा स्वदेशी बजार भने सुनसान देखिएको छ ।

दशैंले आम नागरिकलाई छोएपनि रुपन्देहीका नेपालभारत सीमावर्ती क्षेत्रका ब्यवसायीहरुका लागि यो वर्षको दशैं निरासाजनक नै देखिएको छ । बजारमा चहलपहल नभएपछि दशैंले उत्साह नथपेको ब्यवसायीहरुले बताएका छन् । बजारमा अघिल्लो वर्षको तुलनामा ग्राहक नआएका कारण ऋण लिएर पसलमा लगानी गरेकाहरुलाई समस्या परेको ब्यवसायीको गुनासो छ ।

बिशेष गरि रेडिमेड कपडा, जुत्ताचप्पल तथा ईलेक्ट्रोनिक्स र ईलेक्ट्रिकल्स सामानहरुमा अत्याधिक मुल्य बृद्दि भएका कारण ग्राहकहरु बजारमा नदेखिएको बताईएको छ । सरकारले भन्सार दर बढाएको र अण्डर बिल नियन्त्रण नगरि भन्सारमा कडाई गरेका कारण मुल्य बढेको उनीहरुको ठहर छ ।

सिमावारीका भैरहवा वेलहियाको बजार सुनसान देखिएपनि सिमावर्ती भारतीय बजार सुनौलीमा भने नेपाली ग्राहकको कुनै कमी छैन । हरेक दिन मेला लागे झैं सिमा पारी सामान खरिद गर्न जानेहरु भेटिने गरेकाछन् । मुल्य एउटै एउटै भएपनि ग्राहकहरुलाई सुनौली जाने फेसन जस्तै बनेको सुनौलीबाट सामान किनेर फर्किरहेकाहरुको भनाईबाट बुझ्न सकिन्छ ।

त्यसो त, उपभोक्ताको चेतनालाई दोष दिएर राज्य र ब्यवसायीक संगठनहरु मुक्त हुने अवस्था पनि छैन । नेपालका उत्पादकहरु तथा ब्यवसायीहरुले उपभोक्तालाई स्वदेशी उत्पादनका बारेमा बुझाउन नसक्नु कमजारी भएको बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल श्रेष्ठ बताउंछन् ।

सिमापारी करोडौं रकम हरेक दिन जांदा नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको देखिंदैन भने ब्यवसायीहरुले पनि एउटै मुल्य पर्दा समेत सिमापारी खरिद गर्न जाने नेपालीलाई नेपालमा रोक्ने गरि आकर्षण दिन सकेका छैनन् । बषौंदेखि लागेको बानी छुटाउन राज्य र ब्यवसायी दुबै पक्षबाट स्वदेशमा सामान खरिद गर्न गराउन बिशेष योजना बनाउन जरुरी छ । नेपालगञ्जको अवस्था पनि अन्तकोे भन्दा फरक छैन । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य स्थानीय बजार सुक्ने गरी सर्वसाधारणहरु सिमावर्ती बजार गइरहेको बताउँछन् । त्यसलाई रोक्नुपर्ने उनीहरुको तर्क छ । प्रदेश सांसद आईपी खरेलले एक किलो चिनी ल्याउन पनि रुपैडिया जाने मनोवृत्ति नहटेसम्म यस्तै हुने बताउँछन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले सिमापारी सस्तो पाईन्छ भन्दै जाने सेवाग्राहीलाई बुझाउन नखोजेको होइन । यसले बिभिन्न कार्यक्रम नै गरेर स्वदेशमै समान किन्न आग्रह गरेको थियो । तर त्यो आग्रहलाई कसैले नमानेको देखिन्छ । बिभिन्न सरोकारवाला निकायले त सय रुपैया भन्दा माथिको समान ल्याउनलाई भञ्सार लगाउन सुझाव पनि दिएका छन् । तर अह ! त्यस्तो कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     1:46:35 PM