फिल्म हेर्न सिमावर्ती भारतीय नागरिक नेपालगञ्ज आउँछन्

तस्वीर : शक्तिसिंह कर्माचार्य

नेपालगञ्ज १७ असोज – भारतीय बजार रुपैडियामा दशैंको किनमेल गर्न गएका नेपालीको भिड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्य जस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपालीहरु रुपैडिया पुग्छन् । तर के रुपैडिया लगायत सिमावर्ती ठाउँमा भारतीय नागरिक त्यसै गरी कुनै काममा नेपालगञ्ज आउँछन् त ? हो आउँछन् ।

सिमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिकहरु फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्युएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आए पछि सिमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन बहराईजसम्मबाट त्यहाँका सर्वसाधारणहरु नेपालगञ्जमा आउने गरेको पाइएको छ । क्युएफएक्स बागेश्वरीमा फिल्म हेर्न आइरहने रुपैडियाका एकजना ब्यापारीले भने,–‘हाम्रो यता क्युएफएक्स हल छैन । नजिक भनेको नेपालगञ्ज हो । त्यही भएर हिन्दी फिल्म लागेका बेला जान्छौ ।’

रुपैडियाबाट नजिक लखनउनमा सुविधा सम्पन्न हल छन् । त्यहाँ जान समय लाग्ने भएकाले भारतीयहरु नेपालगञ्ज आउने गरेका छन् । नेपालगञ्जमा अहिले क्युएफएक्स बागेश्वरी मात्र सन्चालनमा छ । लक्ष्मी, श्रृष्टी हल बन्द छन् । स्नेह होटल छेउमा सुविधा सम्पन्न नयाँ हल बन्दैछ । पर्यटन वर्षसंगै उक्त हल सन्चालन हुने अपेक्षा गरिएको छ । यि हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ ।

क्युएफएक्स नेपालगञ्जका प्रबन्ध निर्देशक निरजमान शाक्यले भारतीय नागरिकहरु फिल्म हेर्न आउने गरेको बताए । अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फन पार्क बनाउने काम धमाधम भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज १७, २०७६     3:16:32 PM