बाँकेको हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी, अब पूर्वाधार विकासको खाँचो

नेपालगञ्ज २४ असोज – बाँकेमा हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी भएकाले अब पूर्वाधार लगानीमा ध्यान दिनुपर्ने सरोकारवाला निकायका अगुवा बताउँछन् । बाँके पर्यटकीयक्षेत्रका रुपमा बिस्तार भइरहेको जिल्ला हो । त्यो भन्दा ठुलो कुरा यो पश्चिमका चर्चित पर्यटकीयस्थल जाने ‘ट्रान्जिट’ हो । सडक र हवाई यातायातको सिधा पहुँच भएका कारण नेपालगञ्ज हुँदै जुनसुकै पर्यटकीयस्थलमा जान सहज छ । त्यसैलाई मध्यनजर गर्दै यहाँ दुईवटा पाँच तारे सहित आधा दर्जन तारे होटल सन्चालनमा छन् । मझौला र साना होटलको संख्या धेरै छ ।

बाँकेको होटल तथा सेवा क्षेत्रमा लगानीको आर्कषण उल्लेखिय मात्रामा बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट पुष्टि हुन्छ । पछिल्लो तीन वर्षयताको तथ्यांकलाई मात्र हेर्ने हो भनेपनि यहाँ लगानी उच्च गतीमा भइरहेको छ नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बाँकेमा २०७४ र २०७५ मा होटल तथा सेवा जस्ता क्षेत्रमा रु दुई अर्व १३ करोड ६० लाख कर्जा लगानी भएको छ । जबकी त्यसअघिको आर्थिक वर्ष २०७३ र २०७४ मा रु १ अर्व ५२ करोड ५० लाख पर्यटन तथा सेवा क्षेत्रमा कर्जा लगानी भएको पाईन्छ । आर्थिक वर्ष २०७२ र २०७३ मा रु झण्डै एक अर्व कर्जा लगानी भएको थियो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बाँकेमा रु १ अर्व लगानी भएको देखिन्छ । २०७६ असारसम्मको तथ्यांक अझ दोब्बर देखिन्छ । यो बैंकको ऋण मात्र हो । अन्य क्षेत्रबाट पर्यटन र सेवाक्षेत्रमा भएको लगानी जोड्ने हो भने रकम अझ धेरै हुन्छ ।

बाँके जिल्ला राजधानी काठमाण्डौं पछि पर्यटन तथा सेवा उद्योगमा कर्जा प्रवाह धेरै हुने पोखरा र बिरगन्जलाई पछ्याउने जिल्लामा परेको छ । यहाँ पाँच तारे होटलसम्म सन्चालनमा छन् । साना ठुला होटल तथा सेवा उद्योग सन्चालनमा रहेका छन् । राष्ट्र बैंककै तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा बाँकेमा मात्र ४७ पर्यटक राख्न मिल्ने होटल खुलेका थिए । आर्थिक वर्ष २०७३ र २०७४ मा ४३ र २०७२र २०७३ मा ३६ वटा होटल स्थापना भएका थिए ।

बाँके जिल्ला पश्चिम नेपालका पर्यटकस्थलको मात्र नभई प्रशिद्ध मानसरोवर धार्मिक यात्राका लागि पनि ‘ट्रान्जिट’ हो । यही कारणले गर्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा पर्यटन तथा सेवा उद्योगका क्षेत्रमा कर्जा प्रवाह बढ्दै छ । समग्रमा देशभर पर्यटन क्षेत्रमा होटल व्यवसाय विस्तार हुँदै गएको, उर्जा आपूर्तिमा सुधार आएको तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने वातावरण विकास हुँदै गएको सन्दर्भमा आगामी वर्ष पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

तर प्रदेश संरचना कार्यान्वयनसंगै बाँकेप्रति हेर्ने केन्द्र सरकारको नजर फरक हुन थालेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल बताउँछन् । उनी भन्छन,–‘केन्द्र सरकारले प्रदेश राजधानीका आधारमा पर्यटन योजना बनाइरहेको छ । प्रदेश ५ को बुटवल, कर्णालीको बिरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा योजना गराउँदा नेपालगञ्जलाई छुटाउने काम भइरहेको छ ।’ सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै अन्य सर्दै गएका र सरकारी रणनीतिमा समेत बाँके नपर्दा यहाँ लगाएको करोडौको लगानी डुब्ने होकी भन्ने चिन्ता लगानीकर्ताले गरेका छन् ।

बाँकेमा स्वदेश तथा बिदेशका जुनसुकै स्तरका पर्यटक आए पनि बस्न, खान योग्य होटल छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समेत होटल क्षेत्रमा बाँकेमा भएको लगानीको प्रशंसा गर्दै आएका छन् । होटल क्षेत्रमा भएको लगानी जोगाउन नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–पोखरा, रारा उडान गर्नुपर्ने, मानसरोवार रुटलाई स्थायी बनाउनुपर्ने जस्ता आवाज सम्बोधन गर्न सक्नुपर्ने लगानीकर्ताको सुझाव छ । पश्चिम सहित देशका प्रमुख शहरका हस्पिटालिटीक्षेत्रमा सेवा प्रदान गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानले अब पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँछन् । उनी भन्छन्,–‘होटलको लगानी जोगाउन मात्र होइन देशकै आर्थिक विकासका लागि पनि यहाँ पूर्वाधार तयार गर्नुपर्ने देखिन्छ । हामीले सकारात्मक आश गरेका छौं ।’

सन्र्दभ पर्यटन दिवश : बाँकेमा निजीक्षेत्र उत्साहित, सरकारको प्राथमिकता छैन

प्रकाशित मितिः शुक्रबार, अशोज २४, २०७६     8:21:42 AM