दशैं सकियो तर नेपालगञ्जमा भएनन् यि तीन काम

–मानसरोवारका तिर्थयात्रीलाई बिदाई गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने ।
–बाँके र बर्दिया लक्षित लगानी सम्मेलन आयोजना गर्ने ।
–पर्यटनमन्त्री योगेश भट्टराई यहाँको बिमानस्थल र पर्यटनका बिषयमा बृहद छलफल गर्न आउने । त्यो पनि दशैं अघि ।

माथि उल्लेखित तीनवटा महत्वपूर्ण काम दशैं अघि नेपालगञ्जमा गर्ने भनेर खुबै प्रचार गरिएको थियो । दशैं सकियो । तर कुनै पनि काम भएनन् । यि काम भएका भए नेपालगञ्जमा यतिबेला चर्चाको केन्द्रमा हुन्थ्यो । तर अह ! भनेका कुरा पुरा गर्न कस्लाई फुर्सद ? न भन्नेले ‘फ्लो अप’ गरे नत कसैले योजना कार्यान्वयन गर्न इच्छा शक्ति नै देखाए । गफ गफैमा सिमित भयो । नेपालगञ्जलाई काम चाहिएका बेला कुरामै अल्झाउने प्रबृत्ति बढ्दै गएको उदाहरण हो यो ।

नेपालगञ्जका उद्योगी, व्यवसायी समेत सहभागि भएको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले केही महिना अघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको थियो । नेपालगञ्जसंग सिमा जोडिएको सबैभन्दा ठुलो प्रदेशका शक्तिशाली मुख्यमन्त्रीसंगको उक्त भेट आफैमा महत्वपुर्ण हुने नै भयो । सौहार्दपुर्ण उक्त भेटघाटमा मुख्यमन्त्री स्वयंले मानसरोवर तिर्र्थयात्रीको बिदाईका लागि नेपालगञ्ज वा सिमावर्ती क्षेत्रसम्म आउने प्रतिवद्धता जनाएका थिए । भारतका कयौं तिर्थयात्रीहरु नेपालगञ्ज–हिल्सादेखि कैलाश मानसरोवार जाने गर्छन् ।

मुख्यमन्त्री आदित्यनाथ नेपालगञ्जमा आउने प्रचार गरियो । मानसरोवर तिर्थयात्राको सिजन सकिएको पनि धेरै भइसक्यो तर अह ! मुख्यमन्त्री आउने वा नआउने अत्तोपत्तो भएन । मुख्यमन्त्री आफैले आउने भनेका थिए, आएनन् भन्दै चित्त बुझाउने काम गरियो । नेपालगञ्जको पर्यटन विकासका लागि उत्तरप्रदेशमा रहेको जनसंख्याले महत्व राख्छ । त्यहाँका थोरै मात्र मानिसहरु यहाँ ल्याउन सके पर्यटकीय गतिबिधि बढ्ने निश्चित छ । त्यसका लागि मुख्यमन्त्री तहसम्मको भ्रमणहरु आदानप्रदान हुन सके प्रभावकारी हुने थियो । स्वयं त्यहाँका मुख्यमन्त्रीले आउने इच्छा देखाएको अवस्थामा नेपालगञ्जले प्रदेश, केन्द्र सरकारसंगको पहलमा भ्रमणको चाँजोपाजो मिलाउन सक्छ । तर त्यसको अगुवाई गर्ने कस्ले ?

दशैं अघि नेपालगञ्जमा हुने भनिएको अर्को कुरा हो, लगानी सम्मेलन । गृहनगर नेपालगञ्ज आएका बेला नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दशै अघिसम्म बाँके र बर्दियालाई लक्षित गरी लगानी सम्मेलनको आयोजना गर्ने बताएकी थिइन । राजनीतिक र प्रशासकिन शक्ति क्षयकरण भइरहेका बेला यि दुई जिल्लालाई आर्थिक हबका रुपका विकास गर्न सकिने आधार छ । लगानी सम्मेलन त्यसका लागि कोशे ढुङ्गा सावित हुन सक्थ्यो । तर महासंघ अध्यक्ष राणाले नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा उक्त कुरा भने पछि त्यसै सेलाएर गयो । कसैले फ्लोअपल गरेनन् ।

नेपालगञ्ज बिमानस्थलको स्तारेन्नती र पर्यटनको विकासमा केन्द्र सरकारले हेरेन भन्ने गुनासाका बीच पर्यटन मन्त्री योगेश भट्टराई दशै अघि नेपालगञ्ज आउने भनियो । तर उनी आएनन् । पर्यटनमन्त्री आएपछि विकासका कयौं गुनासाका पोका फुकाउने तयारीमा रहेको नेपालगञ्ज निरास भएको छ । कुनै पनि योजना अघि सार्ने तर कार्यान्वयनमा चासो नदिने प्रबृत्तिले नेपालगञ्जलाई नोक्सान गरिरहेको महसुस गरिएको छ । स्पष्ट योजना बन्नु भन्दा पहिल्यै प्रचार गर्ने तर पछि योजना फासफुस गर्ने प्रबृत्ति अन्त्य भई आशा गरौ आगामी दिनमा माथि उल्लेखिन योजना कार्यान्वयनमा सम्बन्धि पक्षले चासो दिने छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     9:42:36 AM