सिमापारको व्यापार प्रभाव घटाउन ‘इन्ट्री सिस्टम’ राख्न माग

नेपालगञ्ज २९ असोज – नेपालगञ्जका उद्योगी व्यवसायीले सिमापारीको व्यवसायलाई नियमन गर्न भञ्सार नाकामा ‘इन्ट्री सिस्टम’ शुरु गर्न माग गरेका छन् । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियशनको बुधवार सम्पन्न चौथो साधारणसभामा बोल्ने बक्ताहरुले सिमापारीको व्यवसायलाई समयमै नियमन नगर्ने हो भने स्वदेशी बजार थप धरासायी बन्ने निश्चित भएको ठोकुवा गरे ।

कार्यक्रममा प्रमुख अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले सस्तो पाइने नाममा सेवाग्राही रुपैडिया गइरहेको भन्दै त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिए । उनले भने,–‘हामी सबै मिलेर कसरी हुन्छ यस्तो प्रबृत्ति अन्त्य गर्नुपर्छ ।’  नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरन्जीवी ओलीले सिमा नाकामा इन्ट्री सिस्टम शुरु गर्नुपर्नेमा जोड दिए ।

‘सीमापारीको व्यवसाय यहाँका हरेक व्यवसायीको टाउको दुखाईको बिषय बनेको छ । उता मालामाल हुने यता धरासायी बन्ने अवस्था कहिलेसम्म हुने ?’ अध्यक्ष ओलीले भने–‘यस्तो समस्या अन्त गर्न व्यवसायीले के गर्नुपर्छ । सर्बसाधारणदेखि राज्यका निकायले के गर्नुपर्छ बृहदरुपमा बहस गरौ ।’ सिमापारीको व्यवसाय नियम नगर्ने हो भने नेपालगञ्जको व्यवसाय बिस्तापनको खतरा रहेको ओलीले औल्याए ।

साधारणसभामा बाँकेका प्रहरी प्रमुख एससी बिरबहादुर ओली, आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, होटल व्यवसायी संघका अध्यक्ष भिम कडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी संघको बरिष्ठ उपाध्यक्ष मन्दिरा पाण्डे लगायतले बोलेका थिए । एशोसियसनका महासचिव बिष्णु जोशीले कार्यक्रमको सन्चालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष प्रमोद गुप्ताले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     2:12:18 PM